मदनकी पत्नीलाई राष्ट्रपति बनाउँदा मैले माग्न मिल्दैनथ्यो

नेपालका नेल्सन मण्डेला अर्थात् मोहनचन्द्र अधिकारी। पञ्चायती व्यवस्थाविरुद्ध लड्दा उनी १७ वर्ष नौ महिना जेल परे। ०४६ सालको परिवर्तनपछि जनआन्दोलनका कमाण्डर गणेशमान सिंहले उनलाई ‘नेपालका नेल्सन मण्डेला’ घोषणा गरेका थिए। भारतीय नेता (पछि प्रधानमन्त्री) चन्द्रशेखरले उनलाई ‘एसियाका नेल्सन मण्डेला’ उपमा दिएका थिए।

८२ वर्षीय अधिकारी यतिबेला गुमनाम छन्। नयाँपुस्ताले उनलाई चिन्नै छाडिसक्यो। उनले सिङ्गो जीवन खर्चेको नेपाल कम्युनिष्ट पार्टीले पनि उनलाई बिर्सिसक्यो। मदन–आश्रित स्मृति दिवशको दिन अपरान्ह उनको निवास पुग्दा अधिकारी प्रेम रावतको प्रवचन हेरेर बसिरहेका थिए। ‘आज बल्खु जानुभएन?’ भन्ने प्रश्न गर्दा उनले प्रतिप्रश्न गरे, ‘के थियो र? मलाई त खबर गर्दैनन्।’

०२८ सालको झापा विद्रोहका नेता थिए– मोहनचन्द्र। पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका साख्खै भतिजा। कांग्रेसको सदस्य, भन्सारका हाकिम आफ्ना पिताजीसँग विद्रोह गरेर हिँडेका थिए उनी। वृद्ध अधिकारीलाई मुटुको व्यथा छ। डाइवेटिज पुरानै रोग हो। उनैले नेतृत्व गरेको झापा सङ्घर्षका सहकर्मी केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री छन्। उनीहरूकै सिको गर्दै ठूलो सशस्त्र विद्रोह गर्ने पुष्पकमल दाहाल प्रचण्ड पनि उनैको पार्टी–अध्यक्ष हुन आइपुगेका छन्। माधव नेपाल, झलनाथ खनाल पनि उनैको पार्टीका तर्फबाट देशको प्रधानमन्त्री भइसके। तर, अधिकारी भन्छन्, ‘त्यो तहका कोही पनि नेता वर्षौंदेखि भेट्न आएका छैनन्, म पनि पार्टी कार्यालय जान सक्दिनँ।’

प्रकाशित मिति: : 2019-05-21 09:03:04

प्रतिकृया दिनुहोस्