देउवा र शेखरबीच वाक्युद्ध श्रृंखला

तस्बिरः नयाँ पत्रिका

७० वर्षको कांग्रेस इतिहासमा कोइरालाले ४९ वर्ष नेतृत्व गरे । १३औँ महाधिवेशनबाट शेरबहादुर देउवा कोइराला परिवारभन्दा बाहिरबाट सभापति चुनिए । देउवाले कोइराला परिवार पक्षकै सभापति उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गरेको तीन वर्ष बितिसकेको छ । १४औं महाधिवेशन नआउँदै फेरि कांग्रेसमा सभापति देउवा र कोइराला परिवारबीच आरोप–प्रत्यारोप चलेको छ । त्यसमा पनि शेखर कोइराला र देउवाले एक–अर्कालाई लक्षित गरेर वाकयुद्ध नै चलाएका छन् । 

नियमित समयमा महाधिवेशन गर्ने अवस्था भए २०७७ फागुनभित्रै १४ औँ महाधिवेशन गरिसक्नुपर्नेछ । तर, विशेष कारण देखाउँदै एक वर्ष म्याद थप गर्न पाउने व्यवस्था विधानले सभापतिलाई दिएकाले उनको कार्यकाल झन्डै दुई वर्ष बाँकी छ । 

देउवाले आफूहरूको विरासत तोडेपछि कोइरालाले १४ औँ महाविधेशनमा एक भएर लड्ने उद्घोष मात्रै गरेका छैनन्, सँगै खाना खाएर, फोटो खिचाएर र एउटै मालामा बेरिएर उनीहरूले आफूहरू एक भएर देउवाविरुद्ध लड्ने संकेत दिएका छन् । 

गिरिजापुत्री सुजाता कोइरालाले आफू सभापतिमा दाबेदार नगर्ने प्रष्ट पारिसकेकी छिन् । बिपीपुत्र एवं महामन्त्री डा. शशांक कोइराला र शेखर कोइराला सभापतिका संभावित दाबेदार देखिन्छन् । तर, जिल्ला दौडाहा, भेटघाट र सक्रियताका हिसाबले शेखर सभापतिको दाबेदारका रूपमा अगाडि बढेका छन् । अर्कोतिर सभापति देउवा नै एकपटक दोहोरिने दाउमा देखिन्छन् । शशांकले मुख नखोले पनि शेखरले सभापतिको दाबेदारकै रूपमा सक्रियता देखाउँदै गर्दा सभापति देउवाको तारोमा उनी परेका देखिन्छन् ।

प्रकाशित मिति: : 2019-05-19 08:46:12

प्रतिकृया दिनुहोस्