विश्वको सबभन्दा अग्लो शिखर सगरमाथा क्षेत्र अहिले पर्वतारोहण र पदयात्राका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ छ।
लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा विभिन्न वायु सेवा प्रदायकले दैनिक दर्जनौ उडान गरिरहेका छन्।
हिमाल आरोहण गर्नको लागि मुख्य सिजन मानिने यो बसन्त याममा मानवबस्ती नरहेको गोरक्सेपदेखि आधार शिविरबिचको बाटोमा आरोहीहरुको भीड देखिन्छ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नेपालीसहित तीन सय ७२ जनाले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार यो संख्या सगरमाथा आरोहणका लागि अनुमति लिनेमा हालसम्मकै सर्वाधिक हो। आरोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका पुरुष र महिला छन्।
सन् २०१७ मा सबैभन्दा उच्च मानिएको आरोहीको संख्यामा तीनसय ७१ थियो। तर, यो वर्ष आरोहण अनुमति लिनेको संख्या अहिलेसम्मै ३७४ नाघिसकेको छ। अझै आरोहण अनुमति लिने समय भएकाले यो संख्या अझै बढ्न सक्ने पर्यटन विभागले जानकारी दिएको छ। यसअघि सन् २०१८ मा ३४६ जनाले आरोहणका लागि अनुमति लिएका थिए।
सगरमाथाको शिखर जानेमा सबैभन्दा धेरै भारतका पर्वतारोही रहेका पर्यटन बोर्डले जानकारी दिएको छ।त्यसपछि अमेरिका, चीनर बेलायतका महिला/पुरूष पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति पाएका छन्। सगरमाथाका लागि आरोहण अनुमति लिने नयाँ देशमा सिरिया र अरब रिपब्लिक थप भएका छन्।
विभिन्न कीर्तिमानी कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने गरिएको छ।
यस्तै आठ हजार ५१६ मिटर उचाइको लोत्से,६ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल, सात हजार ८६१ मिटर उचाईको नुप्त्से हिमालर आठ हजार ९१ मिटर उचाईको अन्नपूर्ण हिमाल आरोहणका लागि सयौं आरोहीले अनुमति पाएका पर्यटन विभागले जनाएको छ।
सगरमाथा आरोहण गर्न अनुमति लिएका विदेशी आरोहीले प्रतिआरोही ११ हजार डलरका दरले राजश्व तिर्नुपर्ने हुन्छ। त्यस्तै नेपाली आरोहीबाट ७५ हजारका दरले राजश्व तिर्नुपर्ने पर्यटन विभागले जानकारी दिएको छ।