गिटी–बालुवाकाे कर उठाउने विवादका क्रममा खुकुरी प्रहार

बिएल

झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन्।

बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन्। उनको बाँया हातमा चोट लागेको छ।

मेचीनगर–९ का ३६ वर्षीय दीपक तामाङ र निखिल भन्ने सुरज तामाङलगायत ४/५ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

घाइते चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल विर्तामोड पठाइएको र खुकुरी प्रहारमा संलग्न मेचीनगर–९ का १७ वर्षीय सुमन सुन्दास, सोही स्थानका १७ वर्षीय अमस लिम्बू, १८ वर्षीय सञ्जु तामाङ, २२ वर्षीय हर्कराज राई, २० वर्षीय दिप्सन नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खुकुरी प्रहार गर्ने दीपक तामाङ र सुरज तामाङ हाल फरार रहेका छन्। उनीहरुको खोजी कार्य तीव्र बनाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-18 12:20:13

प्रतिकृया दिनुहोस्