राष्ट्रिय फुटबल टिम भुटान प्रस्थान: विमल,अन्जन र सन्तोष परेनन्

फाइल तस्बिर

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम भुटान प्रस्थान गरेका छन्।

२३ सदस्सीय खेलाडीसहितको नेपाली टिम शनिबार दिउँसो भुटानको थिम्पु प्रस्थान गरेका छन्। टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यबाहक अध्यक्ष पंकज नेम्बाङ लगायतले विदाई गरेका छन्।

कुवेतसँगको खेलका लागि भुटान जाने टिममा चार खेलाडी परिवर्तन भएका छन्। स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई परिर्वतन गरेको छ।

विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्न भुटान जानु अघि चारै जना शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए। उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ।

टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै उनिहरुलाई प्रशिक्षक योहान कालीनसँगको छलफलपछि बर्खास्त गरेको एन्फाका प्रवक्ता किरण राईले बताए।

थप कारबाहीबारे एन्फाको आगामी बैठकले निर्णय लिने उनले जानकारी दिए ।

नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यस अघि दशरथ रंगशाला हुने तय भएको थियो। तर, पुनः निर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो। जस अन्तर्गत खेल भुटानमा हुन लागेको हो।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ।

प्रकाशित मिति: : 2019-11-16 15:59:36

प्रतिकृया दिनुहोस्