अर्जेन्टिना र ब्राजिल आमने सामने हुँदै, मेसी राष्ट्रिय टोलीमा फर्कदै

तस्बिरः एजेन्सी

विश्व फुटबलका दुई महान टोली अर्जेन्टिना र ब्राजिल मैत्रीपूर्ण खेलमा शुक्रबार आमने सामने हुँदैछन्। अर्जेन्टिना र ब्राजिलको खेललाई विश्व फुटबलमा सर्वाधिक प्रतीक्षा गरिएको खेलका रुपमा लिइन्छ।

कोपा अमेरिका कपपछि यीटो लीबीचको खेल तटस्थ भेन्यु साउदी अरवमा शुक्रबार (आज) हुन लागेकाे हाे । याे खेल  नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ।

कोपा अमेरिकापछि तीन महिनाको प्रतिबन्ध सकिएसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसी यही खेलमार्फत राष्ट्रिय टोलीमा फर्कदैछन्। कोपा अमेरिका कपमा रेफ्री र आयोजकको आलोचना गरेका मेसी तीन महिला प्रतिबन्धमा परेका थिए।

ब्राजिल र अर्जेन्टिनाबीच २०१९ को कोपा अमेरिकापछि पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । कोपा अमेरिकामा ब्राजिलले अर्जेन्टिनालाई २–० ले पराजित गरेको थियो ।

कोपा अमेरिका जितेपश्चात् ब्राजिलियन टिम निकै कमजोर देखिएको छ । पछिल्लो चार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले एउटामा पनि जित निकाल्न सकेको छैन।

नाइजेरिया, कोलम्बिया र सेनेगलसँग बराबरीमा चित्त बुझाएको ब्राजिल पेरुसँग भने पराजित हुन पुगेको थियो। अर्जेन्टिनाले भने कोपा अमेरिका पश्चात खेलेको चार खेलमा एउटा पनि पराजय भोगेको छैन। मेसीबिना मैदानमा उत्रिएको अर्जेन्टिनाले जर्मनी र चिलिसँग बराबरीमा रोकियो भने इक्वेडर र मेक्सिकोविरुद्ध भारी अन्तरको जित निकाल्न सफल भयो।

ब्राजिल र अर्जेन्टिनाबीचको प्रतिस्पर्धामा ब्राजिलले अहिलेसम्म ४६ खेल जितेको छ भने अर्जेन्टिनाले ३९ खेल जितेको रेकर्ड रहेको छ। पछिल्लो ५ भेटमा ब्राजिलले ३ खेल जितेको छ भने अर्जेन्टिनाले २ खेल जित्न सकेको छ।

प्रकाशित मिति: : 2019-11-15 11:06:59

प्रतिकृया दिनुहोस्