गुल्मीकी मीना भण्डारी बिगत १३ वर्षदेखि सयुक्त अरव इमिरेट्सको दुबइमा एक स्थानीयको घरमा घरेलु कामदारका रुपमा काम गरिरहेकी छिन्।
उनी घर जान नपाएको दुई वर्ष भयो। उनी घर फर्कन चाहन्छिन्, उनका साहु पनि नेपाल आत-जाते हवाइ टिकटदेखि घरखर्च दिन तयार छन्।तर. नेपाल सरकारले उनको घर आउने बाटो छेकेको छ। घर गयो फर्कन मिल्दैन, यानेकि सरकारले उनलाई फेरि रोजगारीमा फर्कन दिदैन।त्यसैले उनी घर जाने सपना साँचेर परदेशमा छिन्।
मिनालाई १३ वर्षसम्म यहाँ बस्दा कुनै दुःख भएन।दुई वर्षअघिसम्म पनि मीनालाई घर जान-आउन कुनै रोकावट थिएन। हाँसीखुसी एकमहिने छुट्टि बिताएर मीना फर्किने गरेकी थिइन्।तर, अहिले सरकारले उनी आउने बाटो छेकेको छ।
मिनाजस्तै घर आउने बाटो छेकिएकी नवलपरासीकी लक्ष्मी पौडेलको पनि पीडा उस्तै छ। उनी पनि घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा दुबईमै रहेको ९ वर्ष भयो। सन् २०१० देखि उनी यहाँको एक घरमा घरेलु कामदारका रूपमा काम गर्दैआएकी छन्। रोजगारीबाटै तीनजनाको परिवारको पालनपोषण गर्दै आएकी लक्ष्मीकका दुई छोरीलाई उच्चशिक्षा लिइरहेका छन्।
उनी पनि घर जान नपाएको २ वर्ष हुन भयो। लक्ष्मीलाई घर आतेजातेको हवाई टिकट तथा एक महिनाको बिदा मिलेको छ। र पनि उनी घर जान पाएकी छैनन्।
लक्ष्मीको घर फर्कने बाटोमा सरकारले काँडेतार बिछाएको छ।‘साहुले घरपरिवारलाई भेटेर आऊ भनेका छन्, एक महिनाको छुट्टि र आउने जाने प्लेन टिकट काटिदिने पनि भनेका छन, तर मसँग घर जाने आँट छैन, गएपछि सरकारले यता आउन दिँदैन, अनि मैले कसरी नानीहरुलाई पढाउने ?'
साहुहरुले आफ्नै छोरीजस्तै गरी घरमा राखेको बताउँदै लक्ष्मी भन्छिन्- 'म घर जान नपाउँदा उनीहरुसमेत दुःखी छन् तर यो कुरा मेरो सरकार बुझ्दैन। मैले कमाएको पैसाबाट सरकारले रेमिट्यान्स समेत लिन्छ, तर मलाई भने घर जानै दिदैन।'
लक्ष्मीलाई घर गएपछि फर्कन नपाउँने चिन्ताले सताएको छ। उनी भन्छिन्- 'घर गएपछि फर्केर यहा आउन पाइँदैन। नेपालमा गरिखाने बाटो छैन, नजाऊँ बच्चाहरुको साह्रै यादले सताउन थालेको छ।'
उनको एक मनले सोच्छ, होस् जाँउ बरु दलाललाई पैसा खुवाएर फेरि आउला।फेरि अर्को मनले सोच्छ, हैन ज्यानै जोखिममा राखेर कसरी आउनु।'हामीलाई कुनै दुःख छैन हामी बिदामा गएर फर्कन चाहन्छौं भने किन रोक्ने ?’ लक्ष्मीले प्रश्न तेर्स्याउँदै भन्छिन्, ‘राज्यले हामीलाई केही व्यवस्था गर्नुपर्यो।होइन भने हामीलाई गरेर खान दिनुपर्यो।हामीलाई घरमा बस्न मन छ। तर के गर्नु हाम्रो जीवन त चलाउनुपर्यो नि। हामीलाई दुःख भए किन फर्कन चाहन्थ्यौं ? यो कुरा सरकार किन बुझ्दैन ?'
लक्ष्मी र मिना त यस्ता प्रतिनिधि पात्र मात्र हुन्। सयुक्त अरव इमिरेट्समा लक्ष्मी र मीनाजस्तै ५० हजार नेपाली महिला घरेलु कामदारका रूपमा काम गरिरहेका छन्। उनीहरू सबैको कथा व्यथा एउटै छ।उनीहरू नेपाल जान पाए पनि फर्कन पाउँदैनन् ।
यूएईका लागि नेपाली दूतावास पनि ५० हजार घरेलु कामदार महिला यूएईमा कार्यरत रहेको स्वीकार गर्छ। पछिल्लो सरकारी नीतिकै कारण उनीहरु घर जान पाएका छैनन्।
२०७३ चैत २० गतेदेखि सरकारले घरेलु कामदारको श्रम स्वीकृति रोकेपछि उनीहरुको घर आउने बाटो बन्द भएको हो।सरकारी निर्णयले खाडीमा काम गर्ने खासगरी महिला प्रभावित भएका छन्। नयाँले जान नपाउनु ठीकै हो, तर सरकारको यो निर्णयले बसौंदेखि कार्यरत ५० हजारभन्दा बढी महिलाको घर जाने बाटो नै रोकिएको छ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनपछि २०७३ चैत २० गतेदेखि सरकारले खाडीमा घरेलु महिला कामदारमा जान रोक लगाएको थियो।तत्कालीन समितिका सभापति प्रभु शाहले खाडीका विभिन्न मुलुकको भ्रमण गरी घरेलु कामदारमा जान रोक्न सरकारलाई सुझाव दिएका थिए।
सरकारले घरेलु महिला कामदारको श्रम स्वीकृति रोक्दा समस्या समाधान हुनुभन्दा झनै बढेको छ। खाडी जाने कामदार दलालमार्फत् गन्तव्य पुग्ने गरेका छन्। त्यसरी जाँदा उनीहरू मानवतस्करको जालोमा फसिरहेका छन्।
यतिबेला दैनिक १० देखि १५ जना नेपाली युवती डेढलाखभन्दा बढी दलाललाई खुवाएर भारतीय चोर बाटो हुँदै खाडी मुलुक पुग्ने गरेका छन्।त्यसरी जाँदा कतिपयमाथि बाटोमा यौन तथा अन्य दुर्व्यवहार पनि हुने गरेको छ।