पेशाले उनी नेपाल प्रहरीकी सई हुन्। २०४५ सालमा उनले नेपाल प्रहरीमा जागिर खाइन्। उनका श्रीमान पनि नेपाल प्रहरीका अवकाश प्राप्त सई हुन्। उनको विवाह २५ वर्षको उमेरमा भएको भयो। उनले आफ्नो बुवा कस्ता थिए? हेर्न पनि पाइनन्। किनभने उनी गर्भ टुहुरी हुन्।
आमा भगवती मैनालीको निधन हालै ७४ वर्षको उमेरमा भयो। उनी आफैंले आमाको काजकिरिया गरिन्। तर, काजकिरिया गर्न उनलाई घाटमा निकै संघर्ष गर्नुपर्यो। उनले गरेको संघर्षको विषयमा साथीमार्फत सबैकुरा थाहा पाएपछि बिएल नेपाली सेवा उनलाई भेट्न पशुपति किरियापुत्री बस्ने घर पुगेको थियो।
उनी अर्थात देवी मैनाली। ब्राह्मण कूलकी छोरी।
देवीले आफ्नी आमा भगवती जति दुःख अनुभव गर्नुपरेन। किनभने उनी मामा घरमा हुर्किइन्। पढिन्। देवीकी आमा भगवतीको विवाह ९ वर्षकै उमेर भएको थियो। विवाह हुँदा बुवा १२ वर्षका थिए। बुवा बित्दा उनकी आमा १६ वर्ष पनि नाघेकी थिइनन्। बुवा बितेको केही वर्षभित्रै चार दाजुभाइको लस्करै मृत्यु भयो। कसरी भयो? कसैलाई थाहा छैन।
ती चारभाइकी बधु ९ देखि १६ वर्षसम्मका थिए। चारै जनाले सेतो पहिरन लगाएर माइती फर्कनु पर्यो। अहिले ती बालिका बधु पनि वृद्ध भइसके। माइतीमै बसोबास गर्छन्। चार बालिका बधुमध्ये देवीकी आमा भगवती एक थिइन्।
बुवाको निधनपछि आमाको घरमा बस्ने वातावरण बनेन। यसपछि उनी माइत नै फर्किइन्। छोरी देवी उनका लागि सबैथोक थिइन्। यस्तो अवस्थामा आमा र छोरीबीचको सम्बन्ध कति गहिरो हुन्छ? यो सबैलाई भनिरहनु परेन।आमा करिब ३० वर्षदेखि बिरामीका कारण थलिदै आएकी थिइन्। देवीले विरामी आमाको स्याहारमा कुनै कमी राखिनन्। तर, केही दिनअघि विरामी अवस्थामै आमाको निधन भयो।
जन्मदेखि दुःखले हुर्किएकी देवी भावनात्मक रूपमा श्रीमानभन्दा पनि नजिक थिइन्। त्यसैले आमा बित्दा उनी चितासम्मै जान खोजेकी थिइन्। तर, वरपर भएका आफन्तले उनलाई रोके। उनी आर्यघाटमा भन्दै थिइन्–‘मलाई आमासँगै जान देओ।’
यो माहोलमा आँशुले आँखा ओभानो नहुने सायदै थिए, आर्यघाटमा।
यस्तै माहोलका बीच एउटा कुरा उप्कियो– भगवतीको काजकिरिया कसले गर्ने?
पुरोहितले सोधे– ‘छोरा नभएको अवस्थामा काजकिरिया गर्न अरू कोही आफन्त छ कि?’ पछि पुरोहितले नै सुझाए– आमाको काजकिरिया गर्न ज्वाईँ उपयुक्त हुन्छ।
यतिबेला आर्यघाटमा आमालाई दागबत्ति दिन आफन्तका नाममा माइती पक्ष मात्र थियो। केही छिनको बहसपछि आमाको निधनले मर्माहित देवीले भनिन्, ‘आमाको काजकिरिया म आफैं गर्छु।’
देवीको यो कुरा सुनेर अक्क न बक्क बनेका पुरोहितले ठाँडै अस्वीकार गरे। भने, ‘अहँ पाइदैन्। श्रीमान हुँदाहुँदै सेतो बस्त्रमा श्रीमतीले क्रिया बस्न हुँदैन।’ पुरोहितको नाइनास्तीले घाटको माहोल नै अर्के भयो। हिन्दू धर्मअनुसार काजकिरिया गर्दा पुरोहित चाहिन्छ। अब पुरोहित नै पछाडि हटेपछि के गर्ने? मैनाली परिवारलाई आपत पर्यो।
तर, भनिन्छ नि–‘जहाँ इच्छा हुन्छ, त्यहीँ उपाय।’ अन्ततः भाञ्जा बुहारीले कुरा मिलाइन्। बुहारीको अनेक प्रयत्नपछि पुरोहित काजकिरियामा गरूड पुराण सुनाउन तयार भए। देवीले पशुपतिस्थित किरियापुत्री घरमा १३ दिनसम्म सम्पूर्ण ऋतिरिवाजअनुसार खैरो रङ्गको वस्त्रमा काजकिरिया सम्पन्न गरिन्। भनिन्–‘म छोरी भएको कारणले होला, पुरोहितले विधि–विधान राम्रोसँग पुरा गरेनन्। अनिच्छा जनाउँदै पूजा सम्पन्न गराए। गरूड पुराण सुनाउँदा धेरै विषय उनले अर्थाएनन्। आखिर गरूड पुराणमा पनि छोरीले काजकिरिया गर्नु हुँदैन भनेर कहाँ भनिएको छ?’
देवीले गुनासो गरिरहँदा उनको आँखाको डिलबाट आँशु चुहिन मात्र बाँकी थियो। उनको पीडा आफ्नो ठाउँमा छदै थियो। अर्को पट्टी पुरोहितको पनि आफ्नै गुनासो थियो। ‘छोरीबाट अहिलेसम्म काजकिरिया गराएको थिइन्’ उनले दुःखेसो पोखे–‘सायद अब स्वर्ग टेकिदैन कि क्या हो? मलाई पाप लाग्छ, हजुर। मैले धर्म विपरित काम गरे।’
पुरोहितले यसो भनेर गुनासो गरिरहेको बेला म कल्पनामा हराएछु। मलाई लाग्यो–‘किन उनी यति धेरै उद्देलित भएका होलान्? सायद उनले अर्काको आत्माको शान्तिका लागि यति ठूलो पूण्य कमाइरहेको छु भन्ने हेक्कै राख्न सकेनन्! अरुलाई खुशी राख्नु पनि पूण्य कमाउनु होइन र!’
पुरातन सोचमा जकेडिएका पुरोहितले सायद यसको अनुभव गर्न सकिरहेका थिएनन्। मेरो विचारमा छोरीलाई शिक्षा दिनु नै सबैभन्दा ठूलो क्रान्ति हो। देवीमा समाजमा जकडिएको पुरातन सोचविरूद्ध बोल्ने आँट आउनु शिक्षाकै असर होला?
देवीकी आमा भगवतीले पक्कै यी कुरा बुझेकी थिइन् होला? त्यसैले त उनले छोरीलाई संस्कार मात्र होइन, शिक्षा पनि दिइन्। सायद आमाको त्यही भार चुक्ता गर्न देवी खैरो वस्त्रमा किरियामा बसेकी थिइन्।