नेदरल्याण्ड्सकी ओलम्पियन माडिया गाफुरलाई साँढे आठ वर्ष जेल सजाय सुनाइएको छ । लागुऔषधको अवैध ओसार पसार र कारोबारमा संलग्न पाएइएपछि उनलाई सजाय सुनाइएको हो ।
रियो ओलम्पिकमा चार गुणा चार सय मिटरमा सहभागिता जनाएकी गाफुर जर्मनीमा सीमानामा सुरक्षा जाँचका क्रममा लागुऔषधसहित पक्राउ परेकी थिइन् । उनको गाडीमा २० लाख पाउण्ड बराबरको लागुऔषध भेटिएको संचार माध्यमहरुले जनाएका छन् ।
उनीसँग ५० केजी ट्याबलेट, २ केजी क्रिष्टल मेथ र झण्डै १२ हजार युरो बरामद गरिएको थियो ।
आफू निर्दोष रहेको बताउने गुफरले केल्भ जिल्ला अदालतको यो निर्णयविरुद्ध पुनरावेदन गर्ने बताइएको छ ।
उनले आफ्नो गाडीमा भएको सामान के हो भन्ने आफूलाई जानकारी नभएको बयान दिएकी थिइन् । सामान दिनेको बारेमा पनि उनले बताउन चाहिनन् । साथी–भाइ र परिवारलाई खतरा हुन सक्ने भन्दै उनले आफूलाई सामान दिने ब्यक्तिको नाम उल्लेख गर्न नसक्ने बताइन् ।