एउटै परिवारमा थरीथरीका सदस्य भएजस्तै स्वतन्त्र राष्ट्रका छिमेकी पनि रङ–रङका हुन्छन् । भारतका पूर्वप्रधानमन्त्रीहरू जवाहारलाल नेहरू, इन्दिरा गान्धी, राजीव गान्धी तथा तिनका सुरक्षा निकायले दाबी गर्दै आएको संवेदनशीलताले नेपालीको सार्वभौमिकता, स्वतन्त्र अधिकारमाथि ‘असल छिमेकी’ भनिनेका बोली र व्यवहारबीचको खाडल बेहोरिएको सात दशकको इतिहास छ । सानो छिमेकीको हुर्मत लिन खोज्ने, स्थानीय स्रोत आफ्नो अनुकूल बनाउने, सुरक्षाको हवाला दिँदै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा छेकबार गर्ने जोरजामका दुःखद् अनुभव नेपालीले पाउँदै आएका हुन् ।
राजा महेन्द्रले कोदारी राजमार्ग निर्माण गर्ने चीनको प्रस्ताव स्विकारेको केही वर्षमै नेपालको उत्तरी क्षेत्रमा स्थापित भारतीय चेकपोस्ट हटाइएको सुइरो नयाँ दिल्लीले कहिल्यै बिर्सेेन । सो पीडाले ०६२÷६३ को आन्दोलनमा इन्धनको काम ग¥यो । ०७२ मा नेपालमाथि युद्धको शैलीमा थोपरिएको नाकाबन्दीले गरिबीको रेखामुनि रहने नेपालीको संख्या पाँच महिनामा तीन प्रतिशतले बढ्यो । स्मरण गर्न उपयुक्त होला, ०४६ मा मरिचमान सिंह सरकारको पालामा १३ महिना चरम नाकाबन्दी बेहोर्नुप-यो । भारतमैत्री भनेर चिनिएका विद्वान् तथा नेताहरू दुलाभित्र पसे । चीनमैत्री बुद्धिजीवी र नागरिक समाजका अगुवाले मञ्च पाएसम्म नाकाबन्दीको आलोचना गरे ।
घटना र विचारका सम्पादक देवप्रसाद त्रिपाठीले त्यसै टिप्पणी गरेका होइनन्— पञ्चायतमा प्रजातन्त्र थिएन । तर, एउटा राज्यमा हुनुपर्ने अनेकौँ गुण थिए । अहिले त कोही बेलायती, कोही अमेरिकी र युरोपियन युनियन त कोही भारत र चीननिकट बनेकोमा गौरवान्वित छन् ।