बिएल संवाददाता
समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल। हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो। बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन। ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे। अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ।
घना जङ्गलको बीचमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। सिद्धबराह मन्दिर पनि यही ताल छेउमै छ। त्यसले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ। पदयात्राका लागि निकै सम्भावना बोकेको बराह तालमा भौगोलिक विकटताका कारण अघिल्लो वर्षसम्म सडक पुगेको थिएन। गाउँपालिकाले गत वर्षमात्रै भयरबोङ्गा, मुठाचौर हुँदै यहाँ सडक पुर्याएको छ।
पहाडको टुप्पोमा रहेको तालमा ढोरपाटन नगरपालिकाको अधिकारीचौर, तनमाखेला–२ खोलेस्बाङ र भयरबोङ्गा गाउँबाट सहजै पुग्न सकिन्छ। गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट पैदल यात्रा गरेको दुई घण्टामै यहाँ पुग्न सकिन्छ भने गाडीमा एक घण्टामै पुग्न सकिन्छ। पालिका केन्द्रदेखि खोलेस्बाङसम्म गाडी र एक घण्टाको जङ्गलमा पैदल यात्रा गरी करिब ४५ मिनेटमा तालसम्म पुग्न सकिन्छ।
तालसम्म पुग्नका लागि धेरै गोरेटो रहेको हुँदा पर्यटकलाई यहाँ पुग्न समस्या छैन। ताल र छेउँमै रहेको सिद्ध बराह मन्दिर तथा यहाँबाट देखिने अनगिन्ती हिमश्रृङ्खला र दृश्यले जोकोहीलाई मोहित पारिरहेको छ। बागलुङ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको ताल अघिल्लो वर्षसम्म व्यवस्थित बन्न सकेको थिएन। गाउँपालिकाले केही वर्षयता निरन्तर काम गर्दै आएपछि पर्यटक पनि बढ्न थालेका छन्। केही वर्ष अगाडिसम्म गाउँलेले पूजा गर्ने ठाउँ बराह ताल क्षेत्र हो।
गोठालाले पशुचौपाया चरन क्षेत्रका रुपमा सो क्षेत्र प्रयोग गर्ने गर्छन्। वर्षौं पहिले बनेको जीर्ण मन्दिर, खुला ताल र अव्यवस्थित तालका कारण पर्यटक पुग्न सकेका थिएनन्। गाउँपालिकाले मन्दिरको पुनर्निमाणसँगै प्रचारप्रसार थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका छन्। तमानखोला–२ मुठाचौरमा रहेको बराह तालमा गाउँपालिका र प्रदेश सरकारले अहिलेसम्म रु एक करोड बढी लगानी गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए।
लामो समयदेखि अव्यवस्थित बनेको तालको संरक्षणसँगै अन्य संरचना बनाएपछि अहिले निकै व्यवस्थित बनेको अध्यक्ष बुढामगरको भनाइ छ। पालिकाले ताल र मन्दिर नजिकै शौचालय, खानेपानीको व्यवस्थापनसँगै घेराबार गरिरहेको उनले बताए। पदमार्गसमेत निर्माण भइसकेको हुँदा पर्यटकलाई सहज भएको बुढामगर बताताउँछन्।
ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। वैशाखे पूर्णिमामा बागलुङका विभिन्न स्थान, गुल्मी, प्यूठान, अर्घाखाँचीलागायत ठाउँबाट भक्तजन पूजाआजा गर्न यहाँ आउने गर्छन्। यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत दर्जनौँ हिमशृङ्खला देखिने अध्यक्ष बुढामगरको भनाइ छ। यो याम घुमफिर र वनभोजको हुँदा बिदाका दिन सयौँ मान्छे बराह ताल पुग्ने गरेका छन्।
–डम्मर बुढा मगर
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया