बिएल संवाददाता
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सातजना केन्द्रीय सदस्यले नेकपा एमाले परित्याग गर्ने तयारी गरेपछि एमालेमा भुइँचालो गएको छ।
भीम रावल निकट मानिने ती नेताहरूले एमाले परित्याग गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका हुन्। उनीहरूको नाम गोप्य राखिएको छ।
भीम रावल निकट एक नेताका अनुसार उनीहरूसँग एक खालको छलफल भइरहेको छ। कतिपय नेताहरूले एमालेको आगामी महाधिवेशनपछिको सन्दर्भ हेरेर निर्णय गर्ने भनेका छन्। कतिपयले भने एकसाताभित्रै निर्णय गर्ने भनेका छन्।
नेकपा प्रवेश गर्ने सूचीमा रहेका ती नेताले भने, ‘सुदूरपश्चिम भनेकै भीम रावल हो, भीम रावल नै सुदूरपश्चिम हुन्। गत निर्वाचनमा उहाँलाई टिकट नदिँदा सुदूरपश्चिममा एमालेको हालत के भयो? उहाँलाई मात्रै टिकट दिएको भए माहोल नै फरक हुन्थ्यो।’
भीम रावलनिकट अछामका एक नेता भन्छन्, ‘कतिपयले एमालेमा रहँदा रहँदै पनि अभियानलाई सहयोग गरिरहेकै थिए। उनीहरूले ओलीविरुद्ध अनेकन् प्रश्नहरू तेर्स्याएकै हुन्। ओलीकै कारण देशभर विध्वंश मच्चियो। महाधिवेशनपछि पनि उनी सुध्रिने छाँटकाँट देखिँदैन। ओली रहुन्जेल एमालेको भविष्य छैन भन्ने हाम्रो निष्कर्ष नै हो।’
ती नेताले भनेझैं भीम रावल एमालेमा हुँदा पनि, तत्कालिन नेपाल कम्युनिष्ट पार्टीमा रहँदा पनि सुदूरपश्चिममा शक्तिशाली रहे। १०औं राष्ट्रिय महाधिवेशनमा ओलीसँग अध्यक्षमा भिडेका रावल त्यसपछि पार्टीबाट किनारा लगाइए। तर पनि उनी सुदूरपश्चिममा शक्तिशाली नै छन्। त्यहाँको राजनीति उनकै वरिपरी घुमिरहेको छ।
भीम रावलको चट्टानी अडान, सिद्धान्तप्रतिको प्रतिवद्धता, राष्ट्रवादी छवि, नेता कार्यकर्ताबीचको लोकप्रियता, विपक्षीप्रतिको खरो वक्तव्यवाजी र खरो बोल्ने भएकाले उनी सूदुपश्चिममा राजनीतिको मूल प्रवाहमै रहन्छन्।
भीम रावल एमाले फुटेर माले हुँदा पनि एमालेमै रहे, नेकपा विभाजन हुँदा पनि एमालेमै रहे। पार्टीभित्र बौद्धिक र राष्ट्रवादी छवि भएका उनी राष्ट्रवादमा एमालेमै पनि ओलीलाई मात खुवाउने नेतामा गनिन्थे। तर, अध्यक्षमा आफूविरुद्ध लडेकै कुण्ठाले ओलीले उनलाई पार्टीबाट निकालिदिए।
रावललाई एमालेमै फर्काउने जोडबल गरिरहेका नेताहरू उनी नेकपामा समाहित भएपछि चिन्तित देखिएका छन्। उनीहरूसामू अब एमालेमै ओलीविरुद्ध संघर्ष जारी राख्ने वा रावलसँगै नेकपामा समाहित हुने दुई विकल्प मात्रै बाँकी छ।
यता केन्द्रीय सदस्य बाजुराका नेता प्रकाशबहादुर शाहले एमाले छोडेर नेकपामा प्रवेश गरेका छन्। उनको पार्टी परित्याग सांकेतिक भए पनि यसको पहिरो कैलालीसम्मै जाने नेताहरू बताउँछन्।
कुनै समय सुदूरपश्चिममा भीम रावलइतर कित्तामा उभिएर केपी ओलीलाई दह्रो साथ दिँदै आएका कर्ण थापाले समेत नेकपामा भीम रावल नेकपामा समाहित हुँदा पार्टीलाई ठूलो क्षति पुग्ने संकेत गर्छन्।
उनी भन्छन्, ‘सुदुरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता अब हामीसँग रहेन। पछिल्लो पुस्ताको ठूलो हिस्सा जोडिएको छैन, जोड्न कोही लागिपरेको पनि देखिएको छैन। बरू भइरहेकाहरूलाई खेद्न एउटा पंक्तिको रहष्यमय सक्रियता रहेकै छ।’
पछिल्लो समय थापा पनि ओली प्रवृत्तिविरुद्ध मैदानमै उत्रिएका छन्। उनी पार्टीभित्र विद्या भण्डारीलाई सदस्यता दिनुपर्छ भन्नेमा चट्टानी अडानमा छन्।
भारत प्रवासमा भीम रावलको ठूलो प्रभाव छ। उनी लामो समय एमालेको प्रवास इन्जार्जको रुपमा काम गरेकाले उनी प्रवासमा चिरपरिचित छन्।
एमालेबाट निकालिँदासमेत उनीप्रति सहानुभुति राख्ने नेताहरूको कमी छैन। ती नेताहरूसमेत ओली समूहको नोटिसमा छन्। उनीहरू पनि रावलसँग छलफलमा रहेको बुझिएको छ।
छलफल सकारात्मक भए एमाले केन्द्रमा मात्र होइन जिल्लाहरूमा समेत भुइँचालो जाने आकलन गरिएको छ।
एमालेकै एक पदाधिकारी भन्छन्, ‘केपी ओली प्रवृत्तिले एमालेलाई झापामा त समृद्ध बनाउला। तर यो अराजकताले सुदूरपश्चिम र कर्णालीमा एमालेलाई सक्काउँदै छ। एमालेबाट प्रभावशाली व्यक्तित्वहरूलाई लखेट्दै छ।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया