मङ्गलबार, ११ नोभेम्बर २०२५

रास्वपा छोड्दै गणेशसहित तोसिमा, पुकार र निशा

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीसहित तोसिमा कार्की, पुकार बम र निशा डाँगीले रास्वपा छोड्ने तयारी गरेका छन्।

उर्जामन्त्री कुलमान घिसिङलाई रवि लामिछानेको विकल्पमा पार्टीमा भित्र्याइ सभापति बनाउने कसरत थालेपछि उनीहरूविरुद्ध पार्टीका बहुमत केन्द्रीय सदस्यहरू असन्तुष्ट बनेका थिए।

रास्वपा केन्द्रीय कमिटी बैठकमा कार्कीद्वयसहित बम र डाँगीको पछिल्लो चालप्रति असन्तुष्टि जनाउँदै पार्टीमा आयातित व्यक्तिलाई सभापति बनाउन नसकिने केन्द्रीय सदस्यहरूले स्पष्ट धारणा राखेका थिए।

रास्वपानिकट स्रोतका अनुसार बैठकमा रविको विरुद्धमा लाग्नेहरूले पार्टी छोड्न सक्ने भनेपछि ग्रुप च्याटमा पुकार बमले ‘पार्टी छोड्न बाध्य बनाउन लागेको’ गुनासो गरेको एक नेताले बताए।

डा. तोसिमा कार्कीले पनि रविको विकल्पमा रिफर्मेसनको माग गर्दै आएकी छन्। केही दिनअघि बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा उनले रिफर्मेसनको मार्गचित्र नै पेश गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ।

रास्वपाका शक्तिशाली नेता दीपक बोहरा निकट स्रोत भन्छ, ‘आयातित व्यक्तिलाई सभापति बनाएर पार्टी कब्जा गर्ने नियत थियो उहाँहरूको, रवि लामिछानेविरुद्ध उहाँहरूका पछिल्ला धारावाहीक अभिव्यक्तिले पनि नियत प्रष्ट हुन्छ। आयातितलाई बोकेर लाभ लिने उद्देश्यले लागेका छन्।’

त्यसो त रास्वपाबाट निकालिएका महामन्त्री मुकुल ढकाल पनि पार्टी फुटाउन खुलेरै लागेका छन्। उनले आफूनिकटहरूबाट रास्वपाका कतिपय गोप्य सूचनाहरू पनि प्राप्त गरेर दुरुपयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ। डाँगी र ढकालबीच केही महिनाअघि एक रेस्टुरेन्टमा ‘कालिज गफगाफ’ भएको सार्वजनिक भएकै थियो।

गणेश रास्वपाभित्र रहेर पनि बालेनका बफादार मानिन्छन्। बालेनको योजनामा कुलमानलाई रास्वपामा भित्र्याएर कब्जा गर्ने तयारी थाहा पाएपछि कुलमानलाई भित्र्याउन रविनिकटहरू अनिच्छुक भएको बताइन्छ।

कुलमानलाई रास्वपामा भित्र्याउन नपाएपछि कार्कीले आक्रोश पोखेका छन्। उनले कुलमान घिसिङलाई रास्वपामा भित्र्याउन नसकेपछि ‘कसैलाई पार्टीमा ल्याउन त्याग गरौं भन्दा पार्टी कब्जा गर्न लाग्यो भनेर स्याल हुँइया मच्चाउने, अनि कसैले पार्टी खोल्न लाग्यो भने लौ सकियो भन्दै फेरि रूवाबासी गर्ने गरेको’ टिप्पणी गरेका छन्।

उनी भन्छन्, ‘खोजेको के हो? त्वम् शरणम् गर्दै सबै पाउमा परून्? पर्दैनन् क्या। यति सामान्य कुरा बुझ्न गाह्रो भा हो कि बुझ पचाएर अरूलाई झुक्याएको? लोकतन्त्र भनेको सम्मान हो। राजनीतिमा सम्मान गर्नु भनेको हजुर, तपाई, आइस्यो, बक्सियो भन्नु होइन, चिया पिउने कि गफि भन्ने होइन, निर्णय प्रक्रियामा सहभागी गराउनु हो।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!