शुक्रबार, १२ सेप्टेम्बर २०२५

भ्रष्टाचार र नरसंहार छानबिन गर्न नेताहरू नमानेपछि सुशीलाले भनिन्ः ‘हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन’

News Image
• • •

दलका दोस्रो तहका नेताहरूले समेत ०४७ सालपछि उच्च ओहदामा रहेका प्रशासक र राजनीतिज्ञको सम्पत्ति छानबिनको हुंकार गरिरहेका बेला सोही मुद्धा बोकेका जेन–जीलाई नै झस्काउने गरी जंगीअड्डाबाट गम्भीर विषय बाहिरिएको छ।

जेन–जी विद्रोहको माग बमोजिम अन्तरिम सरकार गठनको प्रयास गरिरहेका राष्ट्रपति रामचन्द्र पौडेलले दलहरूले भ्रष्टाचारविरुद्धको छानबिनका लागि दलका शीर्ष नेताहरू तयार नभएको खुलाएपछि माहोल फेरिएको हो।

बिहीबार राष्ट्रपतिसँग छलफलका लागि शितल निवास पुगेकी अन्तरिम सरकाको प्रधानमन्त्रीमा अघि सारिएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भदौ २३ र २४ गतेको घटना र भ्रष्टाचार काण्डको अनुसन्धानका लागि उच्चस्तरीय छनबिन आयोग गठनको प्रस्ताव गरेकी थिइन्।

स्रोतका अनुसार राष्ट्रपतिले सो विषयमा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग फोनसम्पर्क गरेका थिए। उनीहरूले सुशीलाको प्रस्तावलाई सुरुमै स्पष्ट रुपमा अस्वीकार गरेका थिए।

त्यसपछि सुशीला कार्की ‘हातखुट्टा बाँधेर दिएको जिम्मेवारी नलिने’ भन्दै बाहिरिएकी खुलेको छ। शुक्रबार पनि सुशीला कार्की र राष्ट्रपतिसँग छलफलको कार्यक्रम तय भएको थियो। तर, कार्कीले हिजोकै अडान प्रधानसेनापतिमार्फत राष्ट्रपतिलाई पठाएकी छन्। त्यसबापछिको विकसित अवस्थाबारे जानकारी गराइएको छैन।

यस विषयमा जेन-जी अभियन्तासँग बुझ्दा उनीहरूले राष्ट्रपति कार्यालयले स्पष्ट जानकारी नदिएको बताएका छन्।

एक जेन-जी अभियन्ताले भने, ‘हाम्रो मुख्य मागबाटै ब्याक हुने भन्ने कसैले कल्पना पनि नगर्दा हुन्छ। हाम्रो आन्दोलन नै भ्रष्टाचारविरुद्ध त्यसो त हामीले दलहरूसँग छलफल गर्नुपर्ने कुनै कारण नै छैन। राष्ट्रपतिले अवस्था झन जटिल बनाउनु भयो।’

त्यस्तै जेन-जीले बानेश्वर घटना र त्यसपछि देशभर उत्पन्न परिस्थितिको निर्मम छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ। जेनजी नेता भन्छन्, ‘नरसंहारमा संलग्न मन्त्री होस् कि प्रधानमन्त्री कसैलाई पनि छाडिन्न।’

जेन-जी स्रोतका अनुसार अन्तरिम प्रधानमन्त्रीमा सिफारिस सुशीला कार्कीले राष्ट्रपति पौडेललाई अब लुटतन्त्र नचल्ने चेतावनी दिँदै जेन-जीका माग विनासर्त सम्बोधन गर्न भनेकी छन्।

अब देशमा लुटतन्त्र चल्दैन, जेन-जीको माग सम्बोधन नगरी अघि बढ्ने स्थिति छैन। संसद विघटन नभइ सरकार गठन हुँदैन,’ सुशीलाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

उनका अनुसार सुशीला कार्कीले भष्टाचारको छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने भनेपछि शितल निवास झस्किएको छ।

कांग्रेस महामन्त्री गगन थापाले भने भ्रष्टाचारको छानबिन गर्न दलहरू तयार नभएको भन्ने समाचार गलत र भ्रामक रहेको भनेका छन्।

उनी भन्छन्, ‘यो सरासर गलत र भ्रामक समाचार हो। हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ। यो संवेदनशील अवस्थामा कम्तीमा भ्रमको खेती नगर्दिनुहोला।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!