
बिएल संवाददाता
‘जेन—जी’ भनेर चिनिने नयाँ पुस्ताले अब नेपालमा पनि ‘विद्रोह’को मसाल सल्काउँदैछ।
देशमा मौलाइरहेको ‘भ्रष्टाचार, बेथिति र तानाशाही’ प्रवृत्तिविरूद्ध नेपाली नयाँ पुस्ताले थालेको यो विद्रोहको सुरुवात सोमबार काठमाडौंबाट हुनेछ।
सामाजिक सञ्जालमार्फत फैलिएको विद्रोहको यो झिल्लो अब भने सडकमै सल्किनेछ। त्यसका लागि नयाँ पुस्ताले देशैभरि आह्वान गरिसकेका छन्— ‘अब सामाजिक सञ्जालमा लाइक, कमेन्ट गरेर बस्ने होइन, सडकमा उत्रिनुको विकल्प छैन।’
खासगरी, पछिल्लो समय इन्डोनेसियादेखि फिलिपिन्स हुँदै नेपालतर्फ बगिरहेको ‘नेपो बेबी’ अभियानमार्फत युवा—पुस्ताले ‘भ्रष्ट राजनीतिज्ञ र उच्चपदस्थ व्यक्ति’का बिलासी सन्तान (छोराछोरी र नातिनातिना)हरूलाई ‘टिकटक, रेडिट र इन्स्टाग्राम’मा हिर्काइरहेको छ। प्रश्नको घेरामा ल्याएको छ।
‘नेपो बेबी’ अर्थात विना अनुभव तर पारिवारिक वा राजनीतिक हैसियतकै आधारमा अवसरमा हालिमुहाली र लाभ लिने सन्तानहरू, जसको नाममा थुप्रिन्छ अर्बौंको सम्पत्ति र जिउँछन् आलिसान जीवनशैली।
सन् २०२३ मा इन्डोनेसियामा राष्ट्रपति जोको ‘जोकोवी’ विडोडोका छोरा गिब्रान राकाबुमिङ राकालाई बाबुको छत्रछायाँमा अनुभव बिना उपराष्ट्रपति पदको उम्मेदवार बनाइएपछि ‘नेपो बेबी’को ट्रेन्ड चल्यो।
फिलिपिन्समा बाढी नियन्त्रण प्रोजेक्ट फेल भएपछि ठेकेदार र नेताका सन्तानका बिलासी जीवनशैली ‘एक्सपोज’ अभियान थालियो। जसले विद्रोहकै रुप लियो। जुन अभियान नेपालमा प्रवेश गरेको छ। ‘जेन—जी’ पुस्ताको आक्रोश सडकमै देखिदैछ।
एकातिर नागरिकमा लादिएको चर्को कर, अर्कोतिर त्यही करको दुरुपयोग र विना आम्दानी स्रोत ‘नेपो किड्स’का देश विदेशमा ऐसआरामको जीवन, यही हो संघर्षरत जेन—जीलाई घोचेको विषय।
‘नेपो बेबी’ अभियान सामाजिक सञ्जालमा मात्रै सीमित छैन, यसले अहिले शान्तिपूर्ण र अर्थपूर्ण आन्दोलनको आकार लिँदैछ।
अभियानमा संलग्न युवाहरूले भदौ २३ गते अर्थात् सोमबार ९ बजे माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शनका लागि आव्हान गरेको छ। यो कुनै राजनीतिक दल वा दलनिकट व्यक्तिहरूको प्रदर्शन होइन, यो त इन्टरनेटको लयमै हुर्किरहेका ‘जेन—जी’हरूको विद्रोह हो।
सामाजिक सञ्जालमा सक्रिय नयाँ पुस्ताले संस्थागत रुपमै मौलाइरहेको भ्रष्टाचार र दशकौंदेखि राज्यसत्ता हाँकिरहेका नाइकेहरूसँग हिसाबकिताब माग्दैछ।
‘नेपो बेबी’ ट्रेन्ड मनोरञ्जनका लागि मात्र सीमित छैन। यसले भिडियोमार्फत् जनताका छोराछोरीहरूले भोगिरहेका दुःख, अभाव र परदेशमा बगाएको पसिनाको सस्तो मूल्य देखाएको छ। अर्कोतर्फ ‘जेन—जी’ र ‘अल्फा’ पुस्ताले सत्ता र शक्तिको आडमा मोटाइरहेका व्यक्ति र तीनका छोराछोरीहरूलाई प्रश्नमाथि प्रश्न थप्दैछ।
नवपुस्ताको मौनता अब— भ्रष्ट नेता, कर छल्ने व्यापारी वा बिचौलिया कर्मचारीमा मात्रै सीमित रहेन।
यसले त अहिले राजनीतिमा फैलिएको ‘वंशवाद’ र बिलासी जीवनशैली बिताइरहेका ‘नेपोटिज्म बेबी’ अर्थात् नेताका छोराछोरीहरूको घिनलाग्दो पोल पनि खोल्दैछ। ‘जेन—जी’को गम्भीर प्रश्न छ, ‘हामीहरू धौधौ बाँच्नका लागि सघर्ष गरिरहेका छौं तर नेताका छोराछोराहरूसँग कसरी लक्जरी गाडी, महँगो विदेश यात्रा र ब्रान्डेड सामानको थुप्रो छ?’
‘हाम्रो रगत र पसिना बेचेर राज्यलाई तिरेको करबाट अब तिमीहरू मोज—मस्ती गर्न पाउँदैनौ। सामान्य मानिसले त्यही मौका पाउन संघर्ष गर्नुपर्छ, तर शक्तिशाली परिवारका सन्तानले सजिलै पाउँछन् हरेक अवसर’— यही हो ‘जेन—जी’को प्रश्न।
‘आक्रोश, निराशा र परिवर्तनको तीव्र चाहना राखेको’ नयाँ पुस्ता नै ‘जेन—जी’ हो, अब यसले राजनीतिमा पनि हस्तक्षेप गर्दैछ।
गरिब र निमुखा नेपाली जनताले भोग्दै आएको ‘असमान लोकतन्त्र’को परिभाषा बदल्दैछ। र, ‘लूटतन्त्र’लाई खबरदारी गर्दैछ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया