शुक्रबार, ०५ सेप्टेम्बर २०२५

प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

News Image
• • •

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्वदेश फर्किँदै छन्।

भदौ १४ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री ओली चीनको भिक्ट्री परेडमा समेत सहभागी भएर आज स्वदेश फर्किन लागेका हुन्।

२३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन गएका प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए। चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता समेत गरेका थिए।

नेपाल सन् २०१६ देखि सङ्गठनको संवाद साझेदार रहँदै आएको छ। सन् २००१ मा स्थापना भएको एससीओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एक हो। चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन्।

अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन्। नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वका केही नेताहरूसँग भेटवार्ता गरेका छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेट गरेका थिए।

चीन भ्रमणमा प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!