बिहिबार, २१ अगस्ट २०२५

प्रचण्डले रवि भेटेपछि गगनको आक्रोशः सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको छ

News Image
• • •

नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछानेलाई माओवादी अध्यक्ष प्रचण्डले कारागार पुगेर भेट गरेपछि आक्रोश व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको टिप्पणी गरे।

उनले कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू पनि सहकारी ठगी आरोपमा थुनामा जाँदा पनि एउटा ठगीको अभियुक्तको वरिपरी बहस घुमेको भन्दै असन्तुष्टि पोखे।

उनले भने, ‘नेपाली कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू कोही धरौटीमा छुटे, कोही थुनामा छन्, कोही फरार छन्। खोजी भइरहेको छ। यही गोर्खा मिडियामा आबद्ध भएका दर्जनौं मान्छेहरू पनि भित्र छन्। तर एउटा ठगीको अभियुक्तको वरिपरि बहस घुमेको छ।’

सरकारले अनुसन्धानका क्रममा पूर्वाग्रह राख्न सक्ने भएपनि सातवटा अदालतले ‘तिमी ठगीमा संलग्न छौ’ भन्दा पनि लामिछानेलाई भेट्न पूर्वप्रधानमन्त्रीहरूको दौडधुप देखिएको टिप्पणी गरे। एउटै अभियोगमा थुनामा परेका छविलाल जोशीको विषयमा कसैलाई सम्झनासमेत नभएको भन्दै गुनासो गरे।

उनले भने, ‘नयाँ पार्टी आयो, नयाँ पार्टीसँग अपेक्षाहरू भए। आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रह राख्यो कि भन्ने कुरा पनि अस्वभाविक होइन होला। सरकारले अनुसन्धानको क्रममा, अभियोजनका क्रममा पूर्वाग्रह राख्यो पनि होला। तर एउटा अदालत होइन सातवटा अदालतले त्योपनि सर्वोच्च अदालतले त तिमीले यो यो कारणले गर्दा तिमी ठगीमा संलग्न भएको देखिन्छ भनेर तिमीलाई बाहिर छोड्न मिल्दैन भनेको छ।’

उनले थपे, ‘सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा एउटा ठगीको अभियुक्त भित्र हुँदैगर्दाको बेलामा यत्रो ठूलो कोकोहोला मच्चाएर प्रधानमन्त्री पूर्वप्रधानमन्त्रीहरूको दौड छ अहिले कहिले पहिला भेट्ने भनेर। अनि त्यही कसुरमा अर्को छविलाल भन्ने मानिस पनि छ भन्ने सम्झना पनि छैन।’

उनले आफूहरू (कांग्रेस-एमाले लगायत दलहरू) हामी कमजोर हुँदा छट्टुहरूले घुमाइरहेको टिप्पणी गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!