शनिबार, २३ अगस्ट २०२५

उर्जामन्त्री भन्छन्ः विद्युत ‘अक्सिजन’ सरह भइसक्यो

News Image
• • •

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले आगामी दिनमा २४सै घण्टा विद्युत प्रवाह गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले विद्युत क्षेत्रको उत्पादनलाई निजी क्षेत्रसँग सहकार्य गर्दै समयसापेक्ष र उपलब्धिमूलक ढंगले अघि बढाउन प्राधिकरण सफल भएको उल्लेख गरे। यद्यपि, केही कमीकमजोरी रहेको स्वीकार गर्दै उनले ती सुधार गर्दै देशको आवश्यकतालाई मध्यनजर गरी सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘हामी सर्वसाधारण नागरिकभन्दा एक कदम अगाडि छौं, त्यसैले हामीले केवल दायित्व नभई कर्तव्यबोधसहित प्रेरणादायी ढंगले काम गर्नुपर्छ। राज्यले ठूलो मात्रामा लगानी गरेको यो संस्था वार्षीक दुई खर्ब बजेटको कार्यसम्पादन गरिरहेको छ, जुन कतिपय मन्त्रालयभन्दा पनि ठुलो हो। यस्तो अवस्थामा प्राधिकरण जनउत्तरदायी ढंगले काम गर्न आवश्यक छ।’

मन्त्री खड्काले विद्युत र ऊर्जा विकास देशको समग्र प्रगतिसँग जोडिएको भन्दै यसको महत्व अहिले संसारमा अक्सिजन सरह भइसकेको धारणा व्यक्त गरे।

‘जुनसुकै प्रविधि र विकास कार्य विद्युत तथा ऊर्जा बिना सम्भव छैन,’ उनले भने, ‘संसारले विद्युतको भरमा विकास गरिरहेको छ। त्यसैले यो क्षेत्र विस्तारै अक्सिजनको जस्तै अपरिहार्य बन्ने अवस्थामा पुगेको छ।’

उनले ऊर्जा क्षेत्रको विकासमार्फत राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने दिशामा नेपाल विद्युत प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको बताए। साथै, उनले प्राधिकरणलाई समयअनुकूल सुधार र उत्तरदायी व्यवहारसहित अघि बढ्न सुझाव दिए।

उनले भने, ‘यो संस्था विद्युत र उर्जा उत्पादन गर्ने संस्था हो। त्यसकारण उत्पादनसँगै विद्युत सुरक्षा चाहिएको छ। सुरक्षित प्रवाह चाहिएको छ, अर्थात २४सै घण्टा विद्युत प्रवाह गर्न सक्ने गरी क्षमताको अभिवृद्धि गर्नुपर्नेछ। यस लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले काम गर्न सक्नुपर्छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!