सोमबार, ०४ अगस्ट २०२५

प्रहरीले ‘फरार’ भनेका जसपा नेताको पत्रकार सम्मेलनः आफूमाथि झुटा मुद्दा लगाइएको दाबी

News Image
• • •

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादवले सर्लाही प्रहरीले प्रतिशोध साँधेर आफूमाथि झुटा मुद्दा लगाएको दाबी गरेका छन्।

आइतबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेको र मध्यरातमा घरमा प्रहरी पठाएर परिवारमाथि दमन गरेको दाबी गरे।

उनले आफूमाथि लगाइएको ‘आपराधिक उपद्रव’ को मुद्दा नियोजित र कपोकल्पित भएको दाबी गर्दै भने, ‘मैले पूर्वाधार कार्यालयमा भइरहेको अनियमितताको विषय उठाएँ, त्यसपछि एसपी साहेब रिसाएर फोनमा मलाई ‘साले’ भने। त्यो भ्वाइस रेकर्ड मसँग छ, फरेन्सिक जाँच गरौँ। एउटा जनप्रतिनिधिलाई यत्रो अपमान?’

पत्रकार सम्मेलनमा आक्रोशित मुद्रामा देखिएका यादवले राति १२ बजे घरमा प्रहरी पुगेर छोरालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपसमेत लगाए। ‘के राज्यले प्रहरीलाई नागरिकको सुरक्षा गर्न पठाएको हो कि राति घरमै डकैती गर्न?’ उनले प्रश्न गरे।

यादवले आफूलाई मधेसी भएकै कारण निशाना बनाइएको आरोप लगाए। ‘हामी मधेसी छौं, कमजोर छौं, त्यसैले प्रहरी प्रशासनको मनोबल बढेको छ,’ उनले भने, ‘यदि म पहाडी समुदायको हुन्थेँ भने यस्तो घटना भएपछि कारबाही भइसक्थ्यो।’

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि ‘फरार’ भएको भन्ने आरोपको खण्डन गर्दै यादवले आफू छोराको उपचारका लागि बाहिर गएको दाबी गरे।

उनले आफ्नो संघर्ष व्यक्तिगत नभई मधेसमा व्याप्त भ्रष्टाचार, तस्करी र कमिसनतन्त्र विरुद्ध भएको बताए। ‘यो मेरो मात्र होइन, समग्र मधेसको समस्या हो,’ यादवले भने, ‘अब लुटतन्त्र र बेथितिको अन्त्यका लागि छुट्टै सङ्घर्षको आवश्यकता छ।’

मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा राति अबेरसम्म काम भइरहेकै बेला त्यहाँ अनियमितता भएको भन्दै जसपा नेता यादव र एसपी खड्काबीच फोनमा चर्को भनाभन भएको थियो । त्यसपछि यादवलाई पक्राउ गर्न प्रहरी टोली उनको घर पुगेको थियो। तर, स्थानीयवासीले प्रहरीको गाडीमा तोडफोड गरेका थिए।

उक्त घटनापछि प्रहरीले यादवविरुद्ध ‘आपराधिक उपद्रव’को मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!