
बिएल संवाददाता
सोमबारबाट सुरु एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सतहमै देखिएको गुटबन्दी र कित्ताकाटप्रति असन्तुष्टि पोखेका छन्।
बैठकलाई झन्डै डेढ घण्टा सम्बोधन गरेका ओलीले हिजो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताको प्रसंग जोडेका छन्। आइतबार भण्डारीसँग स्पष्ट कुरा राखेका ओलीले सोमबार केन्द्रीय समितिमा भण्डारी पक्षीय नेताहरूलाई चेतावनी दिए।
विद्याले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि सामाजिक सञ्जालमा केन्द्रदेखि जिल्ला तहका नेताहरूले सामाजिक सञ्जालमा कित्ताकाट सुरु गरेकोप्रति ओलीको चर्को असन्तुष्टि थियो।
अझ उनले भण्डारी पक्षमा खुलेका वरिष्ठ उपाध्यक्ष पोखरेल र स्थायी कमिटी सदस्य कर्ण थापालगायत केही नेताहरूलाई प्रवक्ताको संज्ञा दिए। एक केन्द्रीय सदस्यका अनुसार ओलीले अब उप्रान्त विद्या भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिएका थिए।
‘केपी ओलीको कुरा केपी ओलीले नै राख्न पाउने ठाउँ छ। विद्या भण्डारीको कुरा उहाँले नै राख्नुहुन्छ। उहाँको प्रवक्ता बनेर हिँड्न बन्द गर्नु। पार्टीको काम गर्नु अनुशासनहीन र अराजक काम नगर्नु,’ ओलीको चेतावनी थियो।
ओलीले ‘एमाले बिनाको नेपाल र ओली बिनाको एमाले सपनामा पनि कल्पना नगर्नु, पार्टीको अध्यक्ष अहिले म छु मैलै नछोडेसम्म अरु नेतृत्वमा आउन त परको कुरा नेता पनि बन्न सक्दैनन्’ भन्दै विद्याको पक्षमा कित्ताकाट सुरु गरेका नेताहरूलाई चेतावनी दिए।
भण्डारीका नाममा कित्ताकाट गर्ने प्रयास भइरहेको र यो कदापी सैह्य नहुने बताएका ओलीले पार्टीभित्र गुटबन्दी गर्न खोज्नेहरूलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए। भण्डारीको नाममा अनावश्यक बखेडा झिक्ने, मिडियाबाजी गर्ने पार्टी नेतृत्वविरुद्ध अनावश्यक अफवाह फैलाउनेलाई छानीछानी कारबाही गरिने ओलीको चेतावनी थियो। एमालेमाथि भइरहेको घेराबन्दी र हमला सबै सदस्यहरूले बुझ्न जरुरी रहेको ओलीको भनाइ थियो।
ओलीले जनवर्गीय संगठनमा पार्टी निर्देशनको अवज्ञा गर्दै आफैं उम्मेद्वारी घोषणा गरेका र हारेकाहरू भण्डारीको कित्तामा खुलेकोमा असन्तुष्टि पोखे। आफैं चुनाव रोजेकाहरू आफ्नै कारण हार्ने र हारेपछि पार्टी नेतृत्वलाई सराप्दै हिँड्ने प्रवृत्ति मौलाइरहेको जिकिर गरे।
हिजो ओली-भण्डारी भेटवार्ताका क्रममा च्यासल पुगेका अनेरास्ववियु अध्यक्षमा पराजित प्रकाश पौडेल, युवा संघको अध्यक्षमा पराजित सुमन पुरी, पर्वत भण्डारीलगायत लक्षित थियो ओलीको यो अभिव्यक्ति।
‘हुँदाहुँदा विद्या भण्डारी जहाँजहाँ पुग्नुहुन्छ उहाँको पछाडि तिनै हरुवाहरू लाइन लागेको पनि देखिएको छ। हिजोमात्रै पनि उहाँ पार्टी कार्यालय आउँदा कहिल्यै पार्टी कार्यालयमा नदेखिनेहरू पनि देखिन थाले। यिनीहरूले पार्टीको पक्षमा काम गरिहरेका छन् कि विरोधीहरू र विरोधी पक्षका मिडियाहरूलाई खुराक दिइरहेका छन्। यस खालका मान्छेहरूको पनि पार्टीले हिसाबकिताब गर्नुपर्ने दिन नआओस्,’ चेतावनीसहित ओलीले आक्रोश पोखे।
१ .
२ .
३ .
४ .
५ .