सोमबार, १४ जुलाई २०२५

प्रचण्डलाई ओलीको जवाफः रंगशाला हेर्न कीर्तिपुर जानु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2025-07-14 17:05:00
News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्यारापिट र फ्लडलाइट हेर्न कीर्तिपुर रंगशाला जान भनेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्वोधन गर्ने क्रममा प्रचण्डले ओली सरकारको पहिलो दिन नै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गरेकोमा हालसम्म पनि सम्पन्न नभएको भन्दै प्रश्न गरेका थिए।

संसदमा प्रचण्डले सोधेको प्रश्नको सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै ओलीले ‘बनिरहेको प्यारापिट र जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न कीर्तिपुर नै जान’ सुझाव दिएका हुन्।

ओलीले भनेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन। सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम। मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें। तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’

प्रचण्डले संसदमा सम्बोधन गर्ने क्रममा भनेका थिए, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ।’

त्यसपछि बनेको ओली नेतृत्वको सरकारले ३०० दिनमा बनाउने घोषणा गरेको रंगशाला ३६५ दिन बितिसक्दा नबनेको भन्दै सरकारलाई प्रश्न गरेका थिए।

प्रचण्डले उक्त रंगशाला निर्माणप्रति जनताको चासो र अपेक्षा उच्च रहेको सन्दर्भमा सरकारलाई घोषणा भन्दा कार्यान्वयनमा केन्द्रीत हुन भनेका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?