सोमबार, १४ जुलाई २०२५

अधिवेशनको तयारीमा बद्री केसी समूह

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2025-07-13 19:08:00
News Image
• • •

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारीलाई तीव्र बनाएको जनाएको छ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्यसमितिले हालसम्मको कार्यकालमा गरेका उपलव्धीहरू र आगामी योजना सार्वजनिक गर्न आइतबार एक पत्रकार सम्मेलनको आयोजना गदै विश्व सम्मेलनका बारे जानकारी दिएको हो।

संघका प्रवक्ता फणिन्द्र पन्तले डा.केसीको नेतृत्वमा रहेको कार्यसमितिलाई सर्वोच्च अदालतले वैधानिक मान्यता दिएको स्मरण गराउँदै, सदस्यता वितरणदेखि महाधिवेशन तयारीसम्मका विषयमा जानकारी गराएका छन्। 

एनआरएनएले हालसम्म ‘मेम्बरसिप इन्फर्मेसन सिस्टम-एमआईएस’मार्फत ७२ हजार सदस्यता वितरण भइसकेको जनाइएको छ भने झण्डै पाँच हजार सदस्यता स्वीकृतिको प्रक्रियामा रहेको जनाइएको छ। जापानबाट मात्रै १८ हजारभन्दा बढी र अष्ट्रेलियाबाट साढे १५ हजार सदस्य दर्ता भइसकेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो।

संघका अनुसार विधानतः जुलाई १ देखि ३१ (असार १७ देखि साउन १५) भित्र सबै राष्ट्रिय समन्वय परिषद्हरूको अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ। हालसम्म १५ वटा एनसीसीले अधिवेशन सम्पन्न गरिसकेका छन् भने बाँकी देशहरूमा अधिवेशनको तयारी भइरहेको छ। यी अधिवेशनहरू आगामी अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयनको आधार हुने पनि जनाइएको छ।

महाधिवेशनको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय महाधिवेशन तयारी समिति, निर्वाचन समिति, निर्वाचन अनुगमन समिति तथा न्यायिक समिति गठन भइसकेको जानकारी गराइयो।

अधिवक्ता डा.राजेन्द्र घिमिरेको संयोजकत्वमा गठन भएको निर्वाचन समितिमा चिरन्जीवी ढकाल, टीबी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

संघले आगामी १२औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनलाई सफल बनाउन सबै पक्षको एकता, सहभागिता र समन्वयको आह्वान गरेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?