
प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आएका छन्।
शनिबार बिहान ११ बजे झापा पुगेका ओलीलाई चन्द्रगढी विमानस्थलमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरे।
झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्वी नेपालको भ्रमणमा रहेका ओली दुई दिन उतै हुनेछन्।
प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका-३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्ने, कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने कार्यक्रम रहेको एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले बताए।
ओली आजै इलाम जानेछन्। त्यहाँ रहँदा उनले माई नगरपालिकाका अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने र माई नगरपालिकामा रहेको नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।
इलाम भ्रमण सकेर प्रधानमन्त्री ओली भोलि आइतबार झापा फर्किनेछन्। त्यहाँ दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी-ताराबारी-डिपो सडकखण्डको उद्घाटन गर्नेछन्।
त्यसपछि बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेर ओली भोलि नै काठमाडौं फर्किने कार्यतालिका छ।
१ .
२ .
३ .
४ .
५ .