 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको बैठक चलिरहेको छ।
सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए। सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो।
घिमिरे बोल्न थालेपछि रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर सुरु गरेको नाराबाजी तीन घण्टादेखि जारी छ। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन्।
नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले संसद चलाइरहेका छन्। प्रतिपक्षीको विरोधका बीचमा प्रतिनिधि सभाको बैठक अगाडि नबढाउन संसदबाटै नेकपा एकीकृत समाजवादी र राप्रपाले सभामुख घिमिरेलाई आग्रह गरेका थिए।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रतिनिधिसभाको बैठक रोकेर सहमतिको लागि पहल लिन आग्रह गरेका थिए। तर, सभामुखले मानेनन्।
सभामुखले समय दिएपछि बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न गरे, ‘सभामुखज्यु मैले राख्नुपर्ने केही पनि छैन। संसद्मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ?’
संसद्मा विरोधका रहेका सांसदहरू जनताले जिताएका जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्ने उनले बताए। अन्यथा, विरोधका बीच संसद् चलाउनु दादागिरी हुने उनको आग्रह छ।
‘यसरी संसद् चलाउनु भयो संसदीय अभ्यास होइन। यो दादागिरी हो, दादागिरी बन्द गर्नुस’ प्रमुख सचेतक शाहीले भने।
तर, सभामुखले शाहीको आग्रह मानेनन्। प्रतिनिधिसभामा आकस्मिक समय चलाएर सभालाई कार्यसूचीमा अगाडि बढाए। यस्तो अवस्थामा प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाए। त्यसपछि राष्ट्रिय सभाबाट पारित भएर पुगेको विधेयकको सन्देश सुनाए।
आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रस्तुत गर्न समय दिए।
त्यसपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संसद्को बैठक नै स्थगित गर्न आग्रह गरे।
अर्थमन्त्री पौडेलले रोष्ट्रममा पुगेर आफ्ना कुरा राख्न थालेपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डेले सभामुखसँग समय मागे।
सभामुखले समय दिएपछि पाण्डेले भने, ‘सभामुखज्यु, रोष्ट्रममा अर्थमन्त्रीज्यु महत्वपूर्ण कुरा सुनाइराख्नुभएको छ। तर, प्रतिपक्षमा रहेकामध्ये एउटा दल नाराबाजीमा छ। यो नाराबाजीले मन्त्रीले भनेका कुरा हामी सुनिरहेका छैनौं।’
सभा कसरी चलाउने हो त्यसबारे छलफल आवश्यक रहेको उनले दोहोर्याए।
‘कसरी सभा चलाउने हो? यो सभा चलाउने अहिलेको यो तरिका भएन सभामुख महोदय’ पाण्डेले थपे, ‘यो बैठक स्थगित गरेर, सहमति गरेर र एउटा टुंगोमा पुगेर मात्रै अगाडि बढाइयोस्।’
फेरि पनि प्रतिपक्षी दलले गरेको आग्रह सभामुखले सुनेनन्। अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरिसकेपछि सांसदहरूलाई त्यसमाथि धारणा राख्न समय दिए।
हाल प्रतिनिधिसभामा विरोधका रहेको दल नाराबाजी गरिरहेको छ भने विरोधमा नरहेका दल आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राखिरहेका छन्।
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
 
                                    
                                        जलेको सिंहदरबार
 
                                    
                                        जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया