आइतबार, १४ सेप्टेम्बर २०२५

पूर्वराजा मूर्ति बेच्ने कुख्यात व्यापारी हो, पारस गुण्डा नाइकेः सुदन किराती

News Image
• • •

नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री सुदन किरातीले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिमा आउने चेष्टा नगर्दै राम्रो हुने चेतावनी दिएका छन्।

मंगलबार भोजपुरको षडानन्द नगरपालिकामा माओवादी केन्द्रको अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री किरातीले पूर्वराजालाई मुर्ति, गैंडाको खागलगायत निर्यात गरेर नेपालमा लागूऔषध आयात गर्ने कुख्यात व्यापारीको संज्ञा दिए।

उनले त्यस्ता कुख्यात व्यापारीबाट जनताले आशा गर्ने कुनै कुरा नरहेको टिप्पणी गर्दै पूर्वराजाका छोरा पारसलाई लागूऔषध भण्डारण र गुण्डाको नाइकेको संज्ञा दिए।

‘उसको चरित्रको कुरा गर्ने हो भने ज्ञानेन्द्र एउटा कुख्यात व्यापारी हो। राजाको छोराको नाताले एयरपोर्टमा कुनै पनि भन्सारमा चेकजाँच नहुने त्यो बेला नेपालबाट गैंडाको खाग निर्यात गर्ने, हात्तिको दन्त र पुच्छर निर्यात गर्ने, राम्रा र महँगा कुरा, मुर्तिहरू निर्यात गर्ने र नेपालमा हिरोइन भित्र्याउने कुख्यात व्यापारी हुन्। अन्तर्राष्ट्रिय रुपमा पनि उसको छवि राम्रो छैन। ज्ञानेन्द्रपछि अर्को राम्रो शाह आउला नि त भन्यो भने लगत्तै पारस छ। जो गुण्डाको नाइके हो, लागूऔषधको भण्डारण हो,’ नेता किरातीले भने।

उनले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएकोले यतातिर लाग्नुभन्दा गणतन्त्रको उपचारमा लाग्नुपर्ने बेला भएको बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!