
बिएल संवाददाता
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको बिहार राज्यको सत्तारुढ जनता दल (युनाइटेड)का बिहार प्रदेशका सचिव अजयकुमार कुशवाहाबीच भेटवार्ता भएको छ।
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा मुख्यमन्त्री सिंह र जनता दल (युनाइटेड)का बिहार प्रदेशका सचिव अजयकुमारबीच धर्मसंस्कृति र पर्यटन प्रवर्द्धनका विषयमा कुराकानी भएको हो।
मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच पौराणिक कालदेखि नै नागरिक स्तरमा धार्मिक तथा साँस्कृतिक सम्बन्ध रहेको बताउँदै यसलाई थप सुदृढ एवं दीर्घकालीक बनाउन दुई देशबीच धार्मिक पर्यटन विकासमा जोड दिनुपर्ने बताए।
उनले मधेश प्रदेशमा भारतका राष्ट्रपति, प्रधानमन्त्री, उत्तरप्रदेशका मुख्यमन्त्रीलगायतका उच्चस्तरीय नेताको भ्रमणबाट जानकीको नगरी जनकपुरधामप्रति भारतका धार्मिक पर्यटकको रुचि बढेको उल्लेख गरे।
उनले रामायणमा उल्लिखित जनकपुरधामलगायत स्थलहरूको विकास तथा प्रसार गरी पर्यटनका माध्यमले धार्मिक एवम् नैतिक पथागमनका लागि प्रेरित गर्ने उद्देश्यले ल्याइएको रामायण सर्किट र सीता सर्किटको पूर्णताबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए।
मुख्यमन्त्री सिंहले आफ्नो अयोध्या भ्रमणको प्रसङ्गबारे चर्चा गर्दै त्यहाँ राम मन्दिरको निर्माण सनातनीहरूका लागि गौरवको विषय भएको बताए। उनले सीताबिना राम अधुरो भएको भन्दै राममन्दिर दर्शन गर्न पुग्नेहरूलाई सीता माताको आशीर्वाद लिन मधेश प्रदेशमा आउन सुझाउनुपर्ने समेत उल्लेख गरे।
‘मैले सीमावर्ती भारतीय राज्यका राजनीतिक नेतृत्व र अधिकारीहरूलाई भारतका धर्मस्थलसँग जोडिएका प्रचार सामग्रीमा जनकपुरधाम लगायत नेपालका धार्मिक नगरीका विषयमा उल्लेख गरिदिन आग्रह गरेको छु,’ उनले भने।
मुख्यमन्त्री सिंहले बिहारमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा भएका प्रयास, अभ्यास तथा चुनौतीबाट आर्जित अनुभव साझा हुनुपर्ने भन्दै सीमाञ्चलको संवेदनालाई जोड्न देशपार विवाहको परम्परा र साहित्यले समेत भूमिका निर्वाह गरिरहेको चर्चा गरे।
जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमारले नेपालको विकास प्रयासमा भारत सदैव सकारात्मक रहेको भन्दै दुवै छिमेकी देशबीचको सम्बन्ध प्रगाढ बनाउन नागरिक स्तरमा समेत सार्थक संवादले निरन्तरता पाउनुपर्ने बताए।
उनले सीमा वारपारका जनताबीच सुख दुःख दुवैमा समान अनुभूति गर्ने सम्बन्धलाई थप उचाइमा पुर्याउन धार्मिक, सांस्कृतिक र साहित्यिक साझेदारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रस्ट पारे।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया