शुक्रबार, १५ अगस्ट २०२५

उपेन्द्र यादवसँग ओली र देउवाको छुट्टाछुट्टै भेटवार्ता, मागे उपप्रधानसहित परराष्ट्र मन्त्रालय

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

संसद्‌बाट अध्यादेश पारित गर्ने विषयमा संसद बैठक बस्नुअघि यादवसँग ओली-देउवाको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बालुवाटार स्रोतले समसामयिक राजनीतिक विषयमा छलफल भएको दाबी गरेको छ। तर, जसपा स्रोतका अनुसार अध्यक्ष यादवलाई अध्यादेशमा सघाउँन दुवै नेताले आग्रह गरेका छन्। अध्यादेशमा सहयोग गरेवापत यादवलाई सरकारमा सहभागी गराउने ओली-देउवाले आश्वासन दिएका छन्।

प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत भएपनि राष्ट्रिय सभामा बहुमत छैन। दुवै सदनमध्ये एकले मात्र अध्यादेश अस्वीकार गरेमा खारेज हुने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभामा जसपा नेपालका ३ सदस्य निर्णायक हुनेछन्।

बुढानिलकण्ठ स्रोतले भने अध्यादेशकै विषयमा छलफल भएको स्पष्ट गरेको छ।

स्रोतले भन्यो, ‘हो, अध्यादेश पारित गर्न सघाउँन सभापतिज्यूले आग्रह गर्नुभएको छ। उपेन्द्रजीको पार्टीले सरकारलाई विश्वासको मत दिएको पनि हो। अहिले पनि सघाउँन तयार हुनुहुन्छ।

जसपा नेपालले भने सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको दाबी गरेका छन्। त्यस्तै प्रदेश सरकारहरूमा पनि जसपा नेपालको हिस्सा खोजेका छन्।

यस विषयमा बुझ्न खोज्दा बुढानिलकण्ठ स्रोतले यादवलाई सरकारमा सामेल गराउँने विषयमा भने अनभिज्ञता प्रकट गर्‍यो। 

सरकारले आज ५ वटा अध्यादेश प्रतिनिधिसभा  र राष्ट्रिय सभाबाट पारित गर्ने तयारी गरेको छ। जसपा नेपालले अस्वीकार गरेमा अध्यादेश खारेज हुनेछ।

ओली-देउवासँगको भेटवार्तापछि यादवले संसदीय बैठक डाकेका छन्। अहिले जसपा नेपालको संसदीय बैठक बसिरहेको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!