शुक्रबार, १५ अगस्ट २०२५

कांग्रेस-एमाले सांसदले रक्सी खाएको सीसीटीभी फुटेज र बिल माग्दै बिनिताको उजुरी

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले गएको पुस २९ गते बेलुकी पोखरा गएको बेला कृषि समितिका सदस्यहरू बसेको होटल र बेलुकी मदिरापान गरेको रेष्टुरेन्टको सीसीटीभी फुटेज र बिल झिकाउन माग गर्दै उजुरी दिएकी छन्।

उनले प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सचिवालयलाई एमाले र कांग्रेसका केही सांसदले रक्सी खाएर आफू र आफ्नो पार्टीका सांसदहरूलाई दुर्व्यवहार गरेको र सो कुरा पुष्टि गर्नका लागि होटलको सीसीटीभी फुटेज र बिल झिकाउन माग गरेकी हुन्।

६ दिने अनुगमनका क्रममा कृषि समितिकी सभापति कुसुमदेवी थापा , कांग्रेस नेता वीरबहादुर बलायर र एमाले सांसद सरस्वती सुब्बाले ‘ओपन हाउस पोखरा’ रेष्टुरेन्टमा रक्सी खाएर रास्वपा सांसदलाई दुर्व्यवहार भएको कुरा अस्वीकार गरेपछी उनले थप चुनौती दिँदै सचिवालयलाई ती प्रमाणहरू झिकाउन आग्रह गरेकी हुन्।

रास्वपा सांसदहरूको बारेमा अनावश्यक टिकाटिप्पणी गरेको र सांसदलाई नै दुर्व्यवहार गरेको भन्दै त्यसमा संलग्न सांसदलाई कारबाहीको माग गरेकी छन्। पोखरामा गरेको दुर्व्यवहारको सम्बन्धमा गल्ती स्वीकार्दै माफी माग्न समेत उनले आग्रह गरेकी छन्।

एमाले कांग्रेसका सांसदले रक्सी खाएर रास्वपा सांसदको कुरा काटिरहेको फोटो र भिडियो आफूसँग भएको भन्दै मिडियामा गएर उल्टै भ्रम फैलाउँन नछोडे ती प्रमाणहरू आफूले सार्वजनिक गरिदिने चेतावनी समेत दिएकी छन्।

आफूले उजुरी दिएको पुष्टि गर्दै बिनिताले भनिन्, ‘सभापतिज्युले प्रुभ छैन भन्दै हिड्नुभएको रहेछ। खाको हैन भने फुटेज चाहियो भनेर मैले समितिमा निवेदन दिएको हुँ। मसँग पनि छन् फोटो-भिडियोहरू।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!