
बिएल संवाददाता
सँधैको भन्दा आजको बिहान हुस्सु र भुइँकुहिरोले ढाकेको थियो। शितलहरले विराटनगरको सडक सुनसान जस्तै भइरहेको बेला एक्कासी एक हुल मानिस सडकमा देखिए। भक्काको बाफ उडाउँदै चिया सुरुप्प पिउँदै गरेका स्थानीयले पलाकपुलुक हेरे। चिसोको पर्वाह नगरी सडकमा हुलसँगै नेकपा माओबादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल मर्निङ वाकमा निस्केका रहेछन्।
निलो ट्रयाक सुटमा विराटनगरको सडकमा निस्किएका अध्यक्ष दाहालले स्थानीयवासीको अभिवादन स्वीकार्दै छोटो कुराकानी गर्न भ्याएका थिए। उनीसँग माओवादीका स्थानीय नेताहरू पनि थिए।
दाहालको मर्निङ वाकले स्थानीयसँग जोडिन मद्दत मात्र पुर्याएको छैन, उनको यो जनतासँग नजिकिने शैलीलाई ‘मर्निङ वाक डिप्लोम्यासी’को रुपमा राजनीतिक वृत्तमा हेरिएको छ।
गत महिना उनले झापा आउँदासमेत यस्तै ‘मर्निङ वाक डिप्लोम्यासी’ अपनाएका थिए। प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा उनी सत्तारुढ कांग्रेस-एमाले गठबन्धनसँग हिम्मतका साथ जुधिरहेका छन्।
झापाको गौरीगञ्जमा दाहालले स्थानीय राजबंशी नेताको घरमा केराको पातमा राजबंशीको मौलिक खाना खाएका थिए। उनले खाना खाएको र मर्निङ वाक गरेको घटना मूलधारका मिडियामा समाचारको रुपमा प्रकाशित भइरहेका छन्।
झापाका जिल्ला तहका एक माओवादी नेता पछिल्लो समय अध्यक्ष दाहालको जनसम्पर्क मात्र होइन, क्रेज बढिरहेको दाबी गर्छन्। ‘अध्यक्ष कमरेड बोल्दा मात्र होइन, खाँदा र हिँड्दासमेत समाचार बनिरहेको छ,’ ती नेता भन्छन्, ‘सत्तामा छँदा भन्दा अहिले प्रचण्डको लोकप्रियता कयौं गुणा बढेको छ।’
राष्ट्रिय राजनीतिक वृत्तमा काठमाडौंका मेयर बालेन साह, एमालेका अध्यक्ष केपी शर्मा ओली र धरानका मेयर हर्क साम्पाङको लोकप्रियता अरुको तुलनामा बढी रहेको चर्चा हुने गरेको छ। केही महिनाअघि ओलीको लोकप्रियता घटाउन बालेनका समर्थकले फेसबुक पेजमा अनफलो अभियान नै चलाएका थिए।
अहिले लोकप्रियताको ग्राफमा माओबादी अध्यक्ष दाहाल एक नम्बरमा रहेका माओवादी नेताहरूको दाबी छ। ‘फेसबुकमा अरु नेता जस्तो हाम्रो कमरेड (प्रचण्ड) झुत्तिरहनु हुन्न,’ ती नेताको दाबी छ, ‘तर, आम जनताको दृष्टिमा प्रचण्ड सबैभन्दा आशलाग्दो नेता हुनुहुन्छ। गत स्थानीय चुनावमा एक्लै लड्दा माओबादीले ल्याएको सिट र मतले पनि त्यही कुराको पुष्टि गर्छ।’
दाहाल स्वयं पनि बेला बेला भाषण क्रममा अहिलेको सरकारको साख गिरेको बताउँछन्। पछिल्लो समय माओबादीले दाहालको उपस्थितिमा आयोजना हुने जनसभाहरूमा सर्वसाधारणको भीड बढ्ने गरेको कारण पनि दाहाल निकै उत्साहित छन्।
‘मर्निङ वाक डिप्लोम्यासी’ त्यही लोकप्रियतालाई सडकमा देखाउने एउटा अवसर भएको बताइन्छ। विगतमा दाहाल भीडमा जान नसक्ने अवस्थामा रहेको भन्दै उनको सुरक्षामा ठूलो फौज रहने गरेको चर्चा हुन्थ्यो। अहिले सुरक्षाकर्मीलाई सानो संख्यामा सादा पोशाकमा राखेर दाहाल मर्निङ वाकमा निस्कने गरेका छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया