आइतबार, ०६ सेप्टेम्बर २०२६

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली समकक्षी छोबीच भेटवार्ता

News Image
• • •

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा महत्वपूर्ण छलफल भएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार भएको द्विपक्षीय भेटवार्ताका क्रममा गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर छलफल भएको छ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन अन्तरनिकाय द्रूत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकोमा गणतन्त्र कोरिया सरकारप्रति हार्दिक आभार व्यक्त गरे।

उनले बाढीपीडित नागरिकहरूका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति समेत धन्यवाद व्यक्त गरे।

विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपद्‍मा कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने बताए। यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वाससमेत उनले व्यक्त गरे।

भेटवार्तामा गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताए।

जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकहरूले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री छो ह्युनले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र गणतन्त्र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिए।

उनले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे।

साथै, नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा गणतन्त्र कोरियाले समेत आफ्नो तर्फबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्ताका क्रममा दुई नेताले नेपाल र गणतन्त्र कोरियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास, समझदारी र सहकार्यलाई अझ सुदृढ एवं व्यापक बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन निकट सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!