बुधबार, ०२ सेप्टेम्बर २०२६

भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण भएकोमा शंका छैनः प्रधानमन्त्री

News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले नेपाल विपत्तिको कारण जलवायु परिवर्तन रहेकोमा कुनै शंका नरहेको बताएका हुन्।

उनले भनेका छन्, ‘जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो।’

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै नेपालले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरेका छन्। 

‘हामी सबैमाझ कसरी यो विपद् आइलाग्यो भन्ने जिज्ञाशा उठेको छ, विज्ञहरूसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने आएको छ, त्यसैले यस क्षेत्र अझ सचेत हुनैपर्छ,’ उनले भनेका छन्, ‘हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ। हिउँ चट्टान किन खस्यो? यति धेरै पानी कसरी आयो? भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई जवाफ दिनैपर्छ।’
 
हिमनदीभित्र पग्लिएको पानीको कारणले गर्दा हिमनदीको पतनमा बरफ र पानी दुवै मिसिएको हुनसक्ने प्रधानमन्त्री शाहको भनाइ छ।

‘विज्ञहरू भन्नुहुन्छ, भोटेकोशी नदीमा आएको बाढी, हिमनदीको एउटा सिङ्गै भाग ठूलो उचाइबाट खस्दा ठूलो ऊर्जासहित खसेको हुनसक्छ र खसेकै ठाउँमा पग्लिन सुरु गरी निरन्तर पग्लिँदै ठूलो बाढीको रूप लिएको हुनसक्छ। हिमालयको उचाइबाट नेपालतर्फको भूमि ओरालो लाग्दै गएकाले बाढीले थप गति लिँदै सो क्षेत्र क्षतविक्षत पारेको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!