बिहिबार, २० अगस्ट २०२६

विभिन्न ‘काण्ड’ सम्झाउँदै प्रेम राईलाई यज्ञमणिको प्रश्नः तपाईंमा पदमा रहिरहने नैतिकता छ?

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नैतिकतामाथि प्रश्न उठाएका छन्।

अख्तियार प्रमुख राईसहितका अधिकारीहरू उपस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा न्यौपानेले राई जोडिएका विभिन्न मुद्दा र अदालतका फैसलाहरू उल्लेख गर्दै उनको नैतिकतामा प्रश्न उठाएका हुन्।

न्यौपानलेले वाइडबडी विमान खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, आयल निगमको जग्गा प्रकरण, भैरहवा विमानस्थल प्रकरण लगायत प्रकरणमा राईको नाम मुछिएको स्मरण गराए।

वाइडबडी विमान खरिद प्रक्रियाको प्रारम्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव तथा सञ्चालक समितिका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा २०७३/१/२ मा बसेको निगम सञ्चालन समितिको बैठकबाट नै निगमको आर्थिक नियमावली २०६३ को विनियम २६३ (१) (क) बमोजिम व्यवस्थापनबाट अध्ययन गरी निगमका लागि दुईवटा वाइडबडी विमानहरू खरिद गर्ने सम्बन्धमा प्रस्तुत प्रस्ताव अनुसार खरिद कार्य अघि बढाइएकोबारे अदालतको फैसलामा उल्लेख भएको सांसद न्यौपानेले बताए।

यो मुद्दामा केहीको नाम रहेको र प्रेमकुमार राईको नाम पनि रहेको भन्दै उनले प्रतिवादी नबनाइएको आधारले अदालतले के भन्छ भन्दै प्रश्न गरे।

मुद्दामा नाम भए पनि प्रेम राईलाई प्रतिवादी नबनाइएकोबारे अदालतको टिप्पणी उल्लेख गर्दै न्यौपानेले भने ‘उक्त खरिद प्रक्रियामा सामेल रहेका केही पदाधिकारीको हकमा पनि आरोप दाबी लिएको देखिन आउँदैन। यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने, कसैलाई अभियोजन गर्ने कार्य चयनमुखी दृष्टिकोण अवलम्बन गरेको देखिन्छ। चयनमुखी अभियोजनमा अभियोजन गर्नु समान न्यायको सिद्धान्तविपरीत हुन्छ, समानताको हकविपरीत हुन्छ, प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ।’

‘निगमको नियमावलीमा भएको कानुनी व्यवस्थामा उल्लेख गरेको वाइडबडी विमान खरिद प्रकरणको उपसमितिले गठन गरेको कार्यदिशामा संलग्न व्यक्तिहरूमाथि स्वैच्छिक अभियोग लगाइएको देखिन्छ। यसका आधारमा आयुक्तज्यू, तपाईं हुनुहुन्छ प्रमुख आयुक्त, यसका आधारमा नैतिकता छ? अब त्यही पदमा रहनका लागि कानुनले दिन्छ कि दिँदैन, मैले यो दोस्रो प्रश्न गरेँ, यसको उत्तर पाऊँ।’

आयल निगमको जग्गा प्रकरणमा लेखा समितिले प्रेमबहादुर राईकै नाम किटान गरेको उनले बताए। उनले भैरहवा विमानस्थलको विषय पनि उठाए।

‘अर्को एउटा महत्त्वपूर्ण विषय, नक्कली भुटानी शरणार्थीको विषय छ। मैले अदालतमा भएको बयान लिएर आएको छु, किनभने यो मुद्दाको वकिल पनि म भएकाले कागज प्राप्त गरेको हो’ यस प्रकरणमा नाम जोडिएका सानु भण्डारीको बयान पढेर सुनाउँदै न्यौपानेले भने, ‘मलाई… इन्द्रजित राईले यो गाडी सचिवज्यू तत्कालीन सचिव प्रेम राईको हो, उक्त रकम गाडीमा राखिदिनू भनी भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम १ करोड गाडीमा राख्न लगाई मलाई सचिव प्रेमकुमार राईले कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र… अब तपाईंको काम हुन्छ, तपाईं जानू भनी प्रेमकुमार राईले मलाई भनेकाले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हो।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!