बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताएका हुन्।
उनले भने, ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौं, त्यो आयो कि आएन? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु।’
उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती दिए। उनले सार्वभौम समितिमा आएर टोपी भुईंमा राखेर जुहारी खेल्न नपाइने बताए।
उनले भने, ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु। तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईंमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन।’
यसैगरी सुनारले गैरसरकारी संस्था (एनजीओ)का नाममा सामाजिक सद्भाव भड्काउने, जातीय द्वन्द्व र साम्प्रदायिकता बढाउने काम भइरहेको आरोप लगाए।
उनले भने, ‘एनजीओको नामबाट सामाजिक सद्भाव भड्काउने काम भएको छ। जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ। साम्प्रदायिकता भड्काउने काम भइरहेको छ। राज्यले अनुमोदन गरेर छाप लगाएर देश भड्काऊ भन्न पाइँदैन। जातको नाममा, धर्मको नाममा समाज भड्काउन पाइँदैन। थर फेर्न मन लागेकाहरू जाने, तर दलितलाई अगाडि देखाएर राज्यलाई ध्वस्त गर्न पाइँदैन। अंग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन। बरु मज्जाले डकुमेन्ट पेस गरेर नेपाल ध्वस्त बनाउन पाइँदैन।’
सांसद सुनारले दलित तथा गरिबका नाममा आउने बजेट कतै पनि फ्रिज हुन नहुने बताए। राज्यले दिएको वा वैदेशिक सहायताबाट आएको बजेट लक्षित ठाउँमा पुग्नुपर्नेमा जोड दिँदै उनले दलित र गरिबका नाममा ठूलो चलखेल भइरहेको दाबी गरे।
उनले भने, ‘दलितका नाममा, गरिबका नाममा आएका बजेटहरू कहीँकतै फ्रिज हुनु भएन। राज्यले दिएको होस् या वैदेशिक सहायताबाट आएको बजेट होस्, त्यो कुरा ठाउँमा पुग्नुपर्छ। दलित र गरिबका नाममा ठूलो चलखेलहरू भइरहेको छ।’
भौतिक पूर्वाधार निर्माणमा वैदेशिक सहायताबाट भएका लगानीको प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलको उदाहरण दिँदै अन्तर्राष्ट्रिय सहायतामा निर्माण भएका संरचनाहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए।
‘भौतिक संरचनाको कुरा गर्दा पोखरा एयरपोर्ट के भइरहेको छ? अन्तर्राष्ट्रिय सहायतामा बनिरहेका, भैरहवा एयरपोर्ट बन्ने, प्लेन नउड्ने, बसपार्क बन्ने, बस नगुड्ने हो भने त्यसको काम को हो? यसरी राज्यलाई ऋणको भारी बोकाएर हामी बस्न सकिँदैन,’ उनले भने।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया