बुधबार, ०५ अगस्ट २०२६

प्रदेश सरकारको सत्ता राजनीतिमा नखेल्ने राप्रपाको निर्णय

News Image
• • •

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित, भव्य र प्रभावकारी बनाउन विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले आसन्न महाधिवेशनको तयारीसँगै प्रदेश सरकारबारे पार्टीको धारणा समेत स्पष्ट गरेको छ।

बैठकले वर्तमान अवस्थामा राप्रपा कुनै पनि प्रदेश सरकार गठनसम्बन्धी सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने र त्यसप्रति लालायित पनि नरहेको निष्कर्ष निकालेको छ। प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीचको सहमतिबाटै निर्माण हुनुपर्ने राप्रपाको धारणा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘प्रदेश सरकारहरूको सम्बन्धमा वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल छैन र लालायित पनि छैन। प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर नै निर्माण गरून् भन्ने राप्रपाको धारणा रहेको छ। प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले प्रदान गरेको छ।’

प्रदेश सरकारका विषयमा भविष्यमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले दिएको छ।

बैठकले पार्टीको निर्देशनविना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेशका संसदीय दल र प्रदेशसभा सदस्यहरूलाई निर्देशनसमेत दिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!