बिएल संवाददाता
राष्ट्रिय जेनजी नागरिक अभियानका अजय सोडारी, प्रकाश बम र सुनिल विकलाई विगत ८ दिनदेखि गैरकानुनी हिरासतमा राखिएको भन्दै संयोजक सुनिल सिंहले आक्रोश व्यक्त गरेका छन्।
बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सर्वोच्च अदालतले कारण देखाउ आदेश माग गर्दा पनि सरकारले आलटाल गरेकोसमेत आरोप लगाए।
संयोजक सिंहले आफ्ना सहकर्मीहरूलाई साउन १२ गते माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको बताउँदै तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए।
उनीहरूविरूद्ध ‘अभद्र व्यवहारसम्बन्धी’ कसूरमा हिरासतमा राखेको र अनुसन्धानका नाममा प्रतिशोध साँधिएको आरोप लगाउँदै सिंहले भने, ‘गृहमन्त्री सुदन गुरुङले गैरन्यायीक तरिकाले आफ्नो व्यक्तिगत प्रतिशोध साँध्नु भएको छ।’
‘उहाँ देशको गृहमन्त्री हो, गुण्डा हैन, कहिलेसम्म पावरमा रहनुहुन्छ हामी पनि हेरम्ला,’ सिंहले आक्रोश व्यक्त गरे।
अभियानका प्रवक्ता विर्जन विश्वकर्माले उनीहरूलाई जिल्ला प्रशानसन कार्यालयबाट दोस्रोपटक तीन दिनको म्याद थप गरेर अनुसन्धानका नाममा गैरन्यायीक थुनामा राखेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए।
गिरफ्तार भएको भोलिपल्ट १३ गते नै सर्वोच्च अदालतमा बन्दिप्रत्यक्षीकरण सम्बन्धी रिट हालेको र १४ गते अदालतले कारण देखाउ आदेश मागेको बताउँदै विकले भने, ‘यतिका दिनसम्म पनि बालेन सरकार र सुदनजीको मन्त्रालय ‘कानमा तेल हालेर’ सुतेको छ।’
अभियन्ता सुप्रिया नेपालीले पहिलोपटक पाँच दिन र दोस्रोपटक ३ दिनको म्याद थप गरी आफ्ना साथीहरूलाई विनाकारण दुःख दिइरहको बताउँदै, राज्यलाई पूर्वाग्रही नहुन चेतावनी दिइन्।
नेपालीले आफूहरूमाथि लघुवित्त पीडितहरूलाई निषेधित क्षेत्र तोड्न उक्साएको भन्ने आरोपको खण्डन गर्दै ‘पीडित जोसुकै भएपनि हाम्रो कर्तव्य भनेको न्यायका लागि सघाउने’ रहेको जिकिर गरिन्।
‘हामीहरूले समाजको शान्ति र अमनचयनमा खलल पार्नेभन्दा पनि राज्यलाई खबरदारी तथा पीडितको न्यायका लागि बोल्ने हो, तर राज्य हामीरूसँग डराइरहेको छ,’नेपालीले भनिन्।
उनले अदालतले कारणदेखाउ आदेश दिएको हप्ता दिन बित्दासमेत गृहमन्त्रालय र प्रहरी प्रशासनले दुःख दिने नियतका साथ ढिलासुस्ती गरेको भन्दै आक्रोश व्यक्त गरिन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया