बुधबार, १५ जुलाई २०२६

ओलीले भेट नदिएपछि चिढिए गगन, सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

News Image
• • •

प्रदेशहरूमा एमालेसँग सत्ता सहकार्य गरेको नेपाली कांग्रेसले एमालेसँग सहकार्य तोड्ने तयारी गरेको छ।

प्रदेश सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि सभापति गगन थापासहित नेताहरूले एमाले अध्यक्ष केपी ओलीसँग पटकपटक वार्ताको प्रयास गरेपनि भेट नपाएपछि कांग्रेस चिढिएको एक नेताले बताए।

पछिल्लो समय प्रदेश सरकार सञ्चालनमा दुई दलबीच टसल देखिएको छ। ती समस्या समाधानका लागि प्रयास गर्दा ओलीले समय नदिएपछि सत्ता सहकार्यलाई निरन्तरता दिने नसकिने निष्कर्षमा पार्टी पुगेको कांग्रेसका ती नेताले बताए।

एमालेसँग सम्बन्ध बिग्रिएको संकेत कर्णाली र सुदूरपश्चिममा देखिइसकेको छ। कर्णालीमा कांग्रेसका ४ जना मन्त्रीहरूले राजीनामा दिएका छन्। भने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सबै एमाले मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

त्यस्तै कोशी र बागमती सरकारमा पनि खट्पट सुरु भइसकेको छ। कांग्रेस स्रोतका अनुसार आजै रातिसम्म नभए भोलिसम्म कांग्रेसले एमालेसँग सत्ता सहकार्य तोडिएको घोषणा गर्दैछ।

‘एमाले अध्यक्षले वास्तै नगरेपछि हामी बाध्य भएर सहकार्य तोड्ने निष्कर्षमा पुगिसकेका छौं। नेकपा संयोजक प्रचण्डसँग सम्भावित सहकार्यबारे छलफल सुरु भइसकेको छ। छलफल सकारात्मक नै छ,’ कांग्रेसका ती नेताले भने।

एमाले पक्षले भने कांग्रेसको सम्भावित निर्णयबारे अनभिज्ञता प्रकट गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!