मङ्गलबार, १४ जुलाई २०२६

काठमाडौंतर्फ पैदलयात्रा गरिरहेका मिटरब्याज पीडितलाई रोक्न निजगढ पुगे गृहमन्त्री गृहमन्त्री

News Image
• • •

मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ।

जनकपुरबाट काठमाडौं केन्द्रीत आन्दोलनका लागि पैदल यात्रा गरिरहेका पीडितहरूलाई भेट्न र उनीहरूका समस्याबारे प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आइपुगेका छन्।

बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थलमा अवतरण गरेलगत्तै गृहमन्त्री गुरुङ सडक मार्ग हुँदै सोझै निजगढ पुगेका हुन्। निजगढमा शिविर बनाएर बसेका आन्दोलनरत पीडितहरूसँग मन्त्री गुरुङले प्रत्यक्ष छलफल र अन्तर्क्रिया सुरु गरिसकेका छन्।

लामो समयदेखि न्यायको खोजीमा सडक संघर्ष गरिरहेका नागरिकलाई राज्यका तर्फबाट अभिभावकत्व दिन मन्त्री आफैं मैदानमा उत्रिएपछि यो भेटवार्तालाई राजनीतिक र सामाजिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। 

आफ्नो जायजेथा र उठिबास गराउने मिटरब्याजी (सामन्ती) प्रथाको समूल नष्ट हुनुपर्ने अडानमा रहेका पीडितहरूले सरकारसमक्ष स्पष्ट खाकासहित ६ बुँदे माग अघि सारेका छन्।

उनीहरूले सरकारसमक्ष फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, न्यायाधिकरण गठन तथा पीडितको सम्पत्ति फिर्ता गर्न माग गरेका हुन्।

छलफलका क्रममा गृहमन्त्री सुधन गुरुङले पीडितहरूका समस्या र मागप्रति सरकार गम्भीर रहेको र यस प्रथालाई कानुनी रूपमै अन्त्य गर्न गृह मन्त्रालयले गृहकार्य गरिरहेको आश्वासन दिएका छन्।

यद्यपि, पीडितहरूले भने विगतमा पनि पटक–पटक सहमति भएर कार्यान्वयन नभएको भन्दै यसपटक ठोस र लिखित निर्णय नभएसम्म आन्दोलन र यात्रा नरोक्ने अडान राखेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!