शनिबार, २७ जुन २०२६

अमेरिकी पासपोर्ट ट्रम्पले राखे आफ्नै तस्बिर, उनकै हस्ताक्षर भएको डलर पनि छापिँदै

News Image
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तस्बिर अंकित अमेरिकी राहदानी (पासपोर्ट)को नयाँ डिजाइन सार्वजनिक गरेका छन्। 

अमेरिकाको २५०औँ स्थापना दिवसको अवसरमा सीमित संस्करणको यो पासपोर्ट सार्वजनिक गरिएको हो।

‘अमेरिकाको नयाँ पासपोर्ट, जसले भन्छ, ‘स्वागत छ, तर राम्रो व्यवहार गर्नुहोस्!’’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्।

उनले सार्वजनिक गरेको नमुना पासपोर्टको एक पृष्ठमा डेस्कमाथि दुवै हात मुठ्ठी बाँधेर टेकेर उभिएको उनको तस्बिर देखिन्छ। पृष्ठभूमिमा अमेरिकाको मूल स्वतन्त्रता घोषणापत्रको पाठ राखिएको छ भने तल ट्रम्पको हस्ताक्षर छ। अर्को पृष्ठमा चित्रकार जोन ट्रम्बुलले बनाएको प्रसिद्ध चित्रकला ‘स्वतन्त्रताको घोषणा’ समावेश गरिएको छ।

यो नयाँ पासपोर्टमा प्रयोग गरिएको ट्रम्पको तस्बिर यसअघि अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको डिजाइनमा प्रयोग गरिएको ट्रम्पको तस्बिरभन्दा फरक रहेको छ।

शुक्रबार अबेर ह्वाइट हाउसको आधिकारिक एक्स अकाउन्टमा पनि ट्रम्पले ट्रुथमा सार्वजनिक गरेको सोही डिजाइनसहितको तस्बिरसँगै भनिएको छ, ‘अमेरिकाको २५०औँ स्थापना दिवसको स्मरणमा नयाँ अमेरिकी पासपोर्ट।’

यो सीमित संस्करणको राहदानी पहिलोपटक अप्रिलमा अमेरिकाको २५०औँ स्थापना दिवस मनाउने कार्यक्रमअन्तर्गत घोषणा गरिएको थियो। यसलाई ‘अमेरिकाको २५०औँ ऐतिहासिक वार्षिकोत्सवको स्मरणमा जारी गरिएको सीमित संस्करणको अमेरिकी पासपोर्ट’ का रूपमा प्रस्तुत गरिएको थियो, जसमा अगाडिको, पछाडिको तथा भित्री आवरणमा विशेष कलात्मक डिजाइन र स्तरीय चित्रहरू समावेश गरिएको बताइएको थियो।

यस नयाँ कदमसँगै ट्रम्प अमेरिकी इतिहासमा देशको पासपोर्टमा आफ्नो तस्बिर राख्ने पहिलो बहालवाला राष्ट्रपति बन्ने भएका छन्।

अमेरिकी ट्रेजरी विभागले उनको हस्ताक्षर चाँडै नै एक डलरको नोटमा छापिने पनि जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!