शनिबार, २० जुन २०२६

केन्द्रीय समितिमा भावुक बने रविः सम्झिए पार्टी दर्ताका लागि नागरिकता जुटाउन परेको सकसदेखि हत्कडी लिएर कोठामा प्रहरी छिरेकोसम्म

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने वर्तमान केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै भावुक बनेका छन्।

पहिलो राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन चितवनमा आयोजिक केन्द्रीय समिति बैठकलाई अन्तिम सम्बोधन गरेका सभापति लामिछाने पार्टी स्थापनाकालको संघर्ष सम्झिँदै भावुक बने।

त्यसक्रममा उनले निर्वाचन आयोगमा पार्टी दर्ता गर्नका लागि नागरिकता संकलनका लागि परेको सकसदेखि हत्कडी बोकेर प्रहरी कोठामा छिरेकोसम्म स्मरण गरे।

उनले भने, ‘अहिले महामन्त्रीजीले भनिरहँदा एकदम भावुक हुने खालको परिस्थिति सिर्जना भयो। मलाई पनि अलिकति भावुक बनायो। म सम्झिन्छु पार्टी स्थापना गर्दा, निर्वाचन आयोगमा बुझाउन जाँदा २१–२२ वटा नागरिकता खोज्नका सकस। त्यसमाथि समावेशीताको कुराले त्यो चापलाई सम्झिरहेको छु।’

पार्टीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने दिशामा महाधिवेशन महत्त्वपूर्ण चरण भएको बताए। उनले रास्वपालाई दुईतिहाइ बहुमत प्राप्त पार्टी बनाउन आफ्नो मात्रै नभइ पार्टीका सबै नेता कार्यकर्ता र समर्थकको योगदान रहेको बताए। उनले पार्टीको ४ वर्षे यात्राका उतारचढावको स्मरणसमेत गरे।

लामिछानेले भने, ‘यो कार्यकालको केन्द्रीय समितिको यो अन्तिम बैठक हो। हामीले सचिवालयको बैठक पनि अन्तिम बैठक हिजो कार्यकक्षबाट गर्‍यौं। सचिवालयका साथीहरूलाई मैले आफ्नो कार्यकक्षबाट धन्यवाद दिएँ। यही कोठाभित्र पार्टीका महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजहरूमा हस्ताक्षर भए। यही कोठाभित्र मलाई गिरफ्तार गर्न हत्कडीसहित प्रहरीहरू पनि छिरे। त्यसैले यो बैठक पनि असाध्यै महत्त्वपूर्ण छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!