आइतबार, १४ जुन २०२६

गुण्डुमा ओलीको आशंकाः शंकर र विष्णुले एमाले फुटाउन सक्छन्

News Image
• • •

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आफ्नो विकल्पमा अभियान सुरु गरेपछि सचिवालयमा अल्पमतमा परिसकेका एमाले अध्यक्ष केपी ओली थप आक्रोशित देखिएका छन्।

ओलीकै अहमता र अकर्मण्यताले पार्टी इतिहासकै सबैभन्दा कठिन मोडमा पुगेको निष्कर्षसहित विष्णु–शंकर समूहले पार्टी पुनर्गठन अभियान थालेपछि ओली सशंकित बनेका हुन्।

शनिबार आफूप्रति नरम देखिने बागमती प्रदेशका केही नेताहरूलाई गुण्डु बोलाएर ओलीले विपक्षीको योजना बमोजिम उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले पार्टी फुटाउन सक्ने आशंका व्यक्त गरेका छन्।

ओलीको पक्षमा खम्बा बनेर उभिएका केन्द्रीय सचिव महेश बस्नेतले नै ती नेताहरूलाई ओली निवास लिएर गएका थिए। शनिबार नै बागमती प्रदेशमा पार्टी पुनर्गठन कार्यदलले सुझाव लिने कार्यक्रम थियो। बैठक सकिएलगत्तै बैठकको ब्रिफिङ लिन ओलीले आफूपक्षका नेताहरूलाई गुण्डु बोलाएका थिए।

कार्यदलको भेलामा उपाध्यक्ष पौडेलले पार्टी पुनर्गठनको विपक्षमा उभिनेहरूलाई पार्टी हितको पक्षमा ‘चेतना नभएकाहरू’को संज्ञा दिको भन्दै एक नेताले ओलीसमक्ष दुखेसो पोखेका छन्।

उनले हलमा उपस्थित ८० देखि ९० प्रतिशत नेताहरू विष्णु–शंकरको पक्षमा खुलिसकेको र आफूहरू अल्पमतमा परिसकेको ओलीलाई ब्रिफिङ गरेका थिए।

‘जे बोले हामी नै नराम्रो देखिने अवस्था आइसक्यो हजुर। हामीले हजुरको पक्षमा बोल्ने अवस्था नै रहेन,’ ती नेताले ओलीलाई गुनासो गर्दै भने, ‘पार्टी पुनर्गठनको विरोध गर्नेहरू पार्टीहितको पक्षमा चेतना नभएका हुन् भनेर उपाध्यक्ष कमरेड(विष्णु)ले भनिसकेपछि बोल्ने ठाउँ नै रहेन।’

नेताहरूको ब्रिफिङ सुनेपछि आक्रोशित देखिएका ओलीले आफूले कुनै हालतमा नेतृत्व नछोड्ने, कसैललाई पार्टी फुटाएर जान मन भए जानसक्ने बताएका छलफलमा सहभागी एक नेताले बताए।

‘म नेतृत्व छोड्दिनँ, छोड्नुपर्ने कुनै कारण नै छैन। मैले नेतृत्व छोड्नुपर्ने के अपराध गरें, पदलोभीहरूले पुष्टि गर्न सक्छन्?’ ओलीको अडान थियो।

विष्णु र शंकरले पार्टी फूटाउने तहकै षड्यन्त्र गरिरहेको आरोप लगाउँदै ओलीले अब कार्यकर्ता पंक्तिले पार्टी जोगाउनुपर्ने आग्रह गरेका छन्। विगतमा पनि केही नेताहरूले ‘अपमान भयो’ भन्दै पार्टी छोडेको प्रसंग उप्काउँदै ओलीले वर्तमानमा उनीहरूको हबिगत हेर्न नेताहरूलाई सुझाए।

‘कम्युनिष्ट आन्दोलन धारासायी भएको छ। उनीहरू मैले गर्दा भएको भनिहेका छन्। उनीहरूलाई षड्यन्त्रको मूल थाहा छैन। विपक्षीहरूको षड्यन्त्र बुझेका छैनन् उनीहरूले, ठूलो पद पाउने लोभमा मलाइ हटाउन खोजिरहेका छन्,’ ओलीले नेताहरूलाई सुनाए।

नेताहरूसँग खुलेरै लामो समय छलफल गरेका ओली महासचिव पोखरेलभन्दा बढी उपाध्यक्ष पौडेलसँग असन्तुष्ट देखिन्थे।

‘विष्णुको त यो चरित्र नै त्यही हो। मैले नै स्थान दिएँ, पार्टीमा टिकाएँ। पुरानै हैसियतमा फर्किए। औकात देखाए। तर, शंकर पनि अध्यक्ष पाउने लोभमा मेरै विरुद्ध लागे,’ ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी अर्का एक नेताले बताए।

बालेन सरकारले आफूमाथि धरपकट गर्दा आफ्नो पक्षमा एउटा पनि स्टाटस नलेखेको भन्दै गुनासो गर्दै ओलीले उपाध्यक्ष पौडेलविरुद्ध आक्रोश पोखे।

‘विनाकारण, विनाप्रक्रिया गरिएको मेरो गैरकानुनी गिरफ्तारी र हिरासतबारे एउटा स्टाटस पनि नलेख्ने, गलत भयो पनि नभन्ने? उनी के चाहन्थे भन्ने देखिएन? मौका कुरेर बसेका अवसरवादीहरू पार्टी कमजोर बनेका बेला पछाडिबाट छुरा रोप्न खोज्ने?’ पौडेलप्रति ओलीले आक्रोश पोखे।

ओलीले पार्टी नै फुटाउन लागेको आरोप लगाएपछि महासचिव पोखरेलले आइतबार जवाफ फर्काएका छन्। उनले ओलीतर्फ लक्षित गर्दै ‘जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा नहुने’ टिप्पणी गरेका छन्।

‘जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौं, किनकि जनता नै इतिहासका निर्माता हुन्,’ पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्।

ओलीको विकल्प खोज्न अभियान सुरु

विष्णु–शंकरको नेतृत्वमा ओलीको विकल्प खोज्ने अभियान तल्लो तहबाटै सुरु भइसकेको छ। ओलीले भने बागमतीबाट पार्टी फुटको अभ्यास थालिएको आरोप लगाउँदै अन्य प्रदेशमा यस्तो अवस्था आउन नदिन आफ्ना पक्षका नेताहरूलाई निर्देशन दिएका छन्।

कुनै बेला नदीका दुई किनारा देखिएका यी दुई नेताहरू एकै ठाउँमा देखिएपछि ओली नैतिक दबाबमा परेका छन्। यद्यपि आफूले कसैले माग्दैमा राजीनामा नदिने र केन्द्रीय कमिटीमा आफ्ना कुराहरू राखेर त्यहीँ फेस गर्ने ओलीले स्पष्ट पारेका छन्।

संस्थापनइतर नेताहरूको दाबीमा यतिबेला सचिवालयमा उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेतबाहेक सबै नेताहरू पार्टी पुनर्गठनको पक्षमा खुलिसकेका छन्।

यतिबेला उपाध्यक्ष विष्णु पौडेल निवास भैंसेपाटीमा एमाले नेताहरूको भिडभाड देखिएको छ। कुनैबेला ओली निवासमा देखिने अधिकांश नेताहरू पौडेल निवासमा देखिन थालेका नेताहरू बताउँछन्।

ओलीको अगाडि शंकर–विष्णुतर्फ नखुलेका भानुभक्त ढकाललगायत नेताहरू नै यतिबेला ओलीको साथ छोड्ने तयारीमा रहेको विष्णुनिकट एक नेताले बताए।

उनका अनुसार ढकालले पार्टी कार्यालयमै ‘शंकर र विष्णु कमरेड एक ठाउँमा उभिएपछि ओलीलाई साथ दिन सकिँदैन कि क्या हो?’ भन्न थालेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!