बुधबार, १० जुन २०२६

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले दिए जवाफ, बचाउमा के भने?

News Image
• • •

परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्टममा उभिएर दिएको अभिव्यक्तिको जवाफ दिएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीले जेठ १७ गते दिएको अभिव्यक्तिको बचाउ गरे।

सांसदहरूसँग सरप्राइज प्रश्नोत्तर गरेका बालेनले त्यसक्रममा भारतले मात्रै नभइ नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार अवरोध जारी राखेपछि रास्वपा सभापति रवि लामिछानेको पहलमा सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिने वातावरण बनेको हो।

परराष्ट्रमन्त्री खनालले नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवार यात्रा सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको, यस विषयमा नेपालले कूटनीतिक नोट पठाएको र भारतले पनि त्यसको जवाफ फर्काएको सदनलाई जानकारी गराए।

प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै उनले नक्सांकन हुन बाँकी रहेका क्षेत्रमा बाहेक दशगजा अतिक्रमणको समस्या विद्यमान रहेको र प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको जवाफ दिए।

सीमा विवादका विषय कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार तत्पर रहेको पनि उनले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!