बुधबार, २७ मे २०२६

मानवअधिकार आयोगलाई आशिकाको चुनौतीः कुन अभिव्यक्तिले हिंसा भड्कायो सार्वजनिक गरियोस्

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरिएको विषयप्रति गम्भीर आपत्ति र ध्यानाकर्षण भएको बताइन्।

उनले विगत २०१८ सालदेखि भ्रष्टाचार, कुशासन, अन्याय र राज्यका गलत प्रवृत्तिविरुद्ध खुलेर बोल्दै आएको र जर्मनीबाट नेपाल फर्किएपछि म एक्लै भए पनि अन्यायविरुद्ध कराउँदै, बोल्दै र सडकदेखि सामाजिक सञ्जालसम्म आवाज उठाउँदै आएको स्मरण गर्दै उमेरले जेनजी नभए पनि मनले सधैं युवा पुस्ताको पीडा, आक्रोश र आशासँगै उभिएको बताएकी छन्।

तर आयोगले जेनजी आन्दोलनमा शंकास्पद भूमिका देखिएको भन्दै आफ्नो नाम लेख्दा दुःख लागेको उल्लेख गर्दै उनले आयोगले अस्पताल–अस्पताल पुगेर गोली लागेका घाइतेहरूको अवस्था बुझेको आयोगले नदेखेको बताइन्।

उनले भनेकी छन्, ‘पीडित परिवारको आँसु पुछ्न गएको मेरो मानवता देखेन, राष्ट्रिय मानव अधिकार आयोगले? तर मेरो अभिव्यक्ति भने देखेछ। मैले कसैलाई हिंसा गर्न उक्साएको छैन। मैले आगजनी गरेको छैन। मैले तोडफोड गरेको छैन। मैले निर्दोषमाथि गोली चलाएको पनि छैन। मैले केवल अन्यायविरुद्ध बोलेको हुँ।’

उनले तत्कालिन यही केपी ओली नेतृत्वको सरकारले आफूलाई १८ दिन हिरासतमा राख्दा आयोगले नदेखेको भन्दै गुनासो गरिन्।

उनले भनिन्, ‘त्यो बेला मेरी छोरी जम्मा ३ वर्षकी दुधे बालिका थिइन्। मेरो पीडा, मेरो परिवारको पीडा र राज्यको अन्याय मानव अधिकार आयोगले किन देखेन? त्यो बेला आयोग कुन दुलो मा थियो?आज अचानक मेरो अभिव्यक्तिमाथि प्रश्न उठाउन यो आयोग कहाँबाट टुप्लुक्क आइपुग्यो?’

उनले थपेकी छन्, ‘यदि अनुसन्धान गर्ने हो भने हिसाब–किताब त्यहीँबाट होस्। अनुसन्धान त्यहीँबाट सुरु होस्। मैले बोलेका शब्द मात्र होइन, मैले भोगेका अन्याय पनि हेरियोस्। म सम्बन्धित निकायलाई स्पष्ट रूपमा भन्छु मेरो कुन अभिव्यक्ति, कुन गतिविधि र कुन भूमिकाले हिंसा भड्कायो भन्ने तथ्य सार्वजनिक गरियोस्। निष्पक्ष अनुसन्धान गरियोस्। सत्य लुकाएर लुक्दैन। जनताको पक्षमा बोलेको आवाज दबाएर सत्य समाप्त हुँदैन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!