बिहिबार, २३ अप्रिल २०२६

विनिताका ती अपरिपक्क अभिव्यक्ति, जसले जुम्लामा रास्वपालाई चखायो हारको ‘स्वाद’

News Image
• • •

जुम्लाको पछिल्लो निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ।

विशेषगरी उम्मेदवार विनिता कठायतको पराजय केवल चुनावी हार मात्र नभई नेतृत्वशैली, अभिव्यक्ति र जनसम्पर्कको असफलताको प्रतिविम्बका रूपमा हेरिएको छ। चुनावअघि देखिएको रास्वपाको लहरलाई मतमा रूपान्तरण गर्न नसक्नुमा कठायतका सार्वजनिक अभिव्यक्तिहरू प्रमुख कारण भएको रास्वपाका स्थानीय नेताहरूको समीक्षा छ।

विनिता कठायतले एक पोडकास्टमा ‘विवाह नगरी सन्तान जन्माउने चाहना’ व्यक्त गरेपछि त्यसले कर्णालीमा व्यापक बहस निम्त्यायो। व्यक्तिगत स्वतन्त्रताको विषय भए पनि कर्णालीको परम्परागत सामाजिक संरचनाले यसलाई सहज रूपमा ग्रहण गर्न सकेन।

धेरै मतदाताले यस अभिव्यक्तिलाई स्वतन्त्र सोचभन्दा पनि ‘छाडापन’का रूपमा व्याख्या गरे। यसले उनको छविमा नकारात्मक प्रभाव त पार्‍यो नै समाजसँगको भावनात्मक दूरीसमेत बढायो।

त्यसैगरी, संसद सदस्य हुँदा जनताका दैनिक समस्या र स्थानीय मुद्दामा सक्रिय भूमिका निर्वाह गर्न नसकेको आरोप पनि उनीमाथि थियो। जनप्रतिनिधिको रूपमा अपेक्षित जिम्मेवारी पूरा गर्नुको सट्टा उनले फिल्म प्रचारजस्ता गतिविधिमा बढी समय दिएको जनगुनासो व्यापक रूपमा उठ्यो। यसले मतदातामा ‘हाम्रो मुद्दा उठेन’ भन्ने असन्तुष्टि गहिरो बनायो।

उनको हारको अर्को महत्वपूर्ण कारण उनको अभिव्यक्तिमा देखिएको वर्गीय दृष्टिकोण पनि मानिन्छ। उनले गरिब वर्गलाई लक्षित गर्दै ‘चप्पल पट्काउनेहरूले राजनीति गर्दा भ्रष्टाचार गर्छन्’ भन्ने टिप्पणी गरेपछि त्यसले उल्टै जनआक्रोश निम्त्यायो।

वास्तविकतामा देशमा देखिएको ठूलो भ्रष्टाचार प्रायः शक्तिशाली र पहुँच भएका वर्गबाट हुने गरेको जनमानसमा विश्वास छ। यस्तो अवस्थामा गरिब वर्गलाई नै दोष दिने शैलीले उनीप्रति सहानुभूति घटाउनुका साथै अविश्वास बढायो।

चुनावी अभियानका क्रममा पनि उनले आफ्नो एजेन्डा र पार्टीको दृष्टिकोण प्रस्तुत गर्नुको सट्टा प्रतिद्वन्द्वी ज्ञानेन्द्र शाहीको आलोचनामा बढी समय खर्चिएको आरोप लाग्यो। सकारात्मक एजेन्डा भन्दा पनि नकारात्मक प्रचार बढी देखेपछि उनीप्रति मतदाताको आकर्षण घट्दै गयो। त्यसले रास्वपाको प्रारम्भिक लहरलाई कमजोर बनाउने काम गर्‍यो।

संगठन निर्माणमा कमजोरी पनि उनको पराजयको अर्को मुख्य कारण रह्यो। पार्टी संरचना बलियो बनाउन नसक्दा उनले आफ्नै कार्यकर्ताको पूर्ण समर्थनसमेत जुटाउन सकिनन्।

पदमा रहँदा अन्य ठूला दल कांग्रेस, एमाले र माओवादीसँग नजिकिएर उनीहरूकै प्रभावमा निर्णय गरेको आरोपले पनि पार्टीभित्र असन्तोष बढायो। यसले गर्दा पार्टीभित्रैबाट अपेक्षित साथ नपाउँदा उनको चुनावी स्थिति थप कमजोर बन्यो।

अन्ततः परिणामले देखायो कि ज्ञानेन्द्र शाहीले अत्यधिक मतसहित विजय हासिल गर्दा विनिता कठायत आफ्नै पार्टीका बफादार कार्यकर्ताबाट समेत पर्याप्त समर्थन पाउन असफल भइन्। यो हार व्यक्तिगत भन्दा पनि राजनीतिक सन्देश बोकेको हारका रूपमा हेरिएको छ।

हाल रास्वपाको समग्र राजनीतिक अवस्था सुदृढ हुँदै गइरहेको सन्दर्भमा पनि विनिता कठायतको भूमिका विवादित बनेको छ। आलोचकहरूका अनुसार उनी पार्टीको मूलधारभन्दा बाहिर गएर अन्य दलसँगको निकटतामा बढी केन्द्रीत देखिन्छिन्, जसले उनको विश्वसनीयतामाथि थप प्रश्न उठाएको छ।

समग्रमा, जुम्लाको चुनावी परिणामले देखाएको सन्देश स्पष्ट छ, नेताको व्यक्तिगत अभिव्यक्ति, जनतासँगको सम्बन्ध र संगठनात्मक मजबुती चुनाव जित्ने प्रमुख आधार हुन्।

यी पक्षमा कमजोरी देखिएमा कुनै पनि लहर टिकाउ बन्न सक्दैन। विनिता कठायतको पराजय यसैको उदाहरण बनेको छ, जसबाट आगामी दिनमा रास्वपा मात्र होइन, अन्य राजनीतिक शक्तिहरूले पनि महत्वपूर्ण पाठ सिक्नुपर्ने देखिन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!