शनिबार, ०४ अप्रिल २०२६

प्रधानमन्त्रीलाई वामदेवको खुलापत्रः केपी ओलीलाई अपमानित हुने गरी हिरासतमा राख्ने गल्ती सच्याउनुस्

News Image
• • •

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वामदेव गौतमले प्रधानमन्त्री बालेन्द्र शाहको नाममा खुला पत्र लेख्दै एमाले अध्यक्ष ओलीलाई रिहा गर्न आग्रह गरेका छन्।

उनले आजको अवस्थासम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरूमा प्रकारान्तरले केपी ओलीको पनि योगदान रहेको स्मरण गराए।

उनले ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने तर, त्यसो नगरी रातारात घर घेरेर, एकाबिहानै पक्राउ गर्ने शैली गलत भएको बताएका छन्।

उनले भनेका छन्, ‘म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रूपमा पनि अस्वस्थ राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन।’

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहको नाममा वामदेवको खुलापत्र–

सम्माननीय प्रधानमन्त्रीका नाममा खुल्लापत्र

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू  !

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको र देशको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा तपाईंलाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

यस सन्दर्भमा तपाईंलाई केही ध्यानाकर्षण तथा सुझाव दिने प्रयत्न गरेको छु ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत हासिल गर्न सकेनन् । बाध्यात्मक अवस्थामा मिलीजुली सरकार सञ्चालन गर्नुपर्ने अवस्था आयो ।

यस वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र दमन तथा राष्ट्रिय विध्वंसको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) को मिलीजुली सरकार थियो र प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो ।

भाद्र २३ को घटनामा त्यसै दिन १९ जना आन्दोलनकारीको मृत्यु भयो । त्यसपछि अरू धेरै व्यक्तिले घाइते अवस्थामा अस्पतालमै मृत्युवरण गरे । यो अत्यन्त दुखद र पीडादायी घटना बनिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु राम्रो हुन्छ भनेर अनुरोध गर्ने एकजना म पनि थिएँ । उहाँले राजीनामा दिनुभयो । त्यसपछि प्रतिनिधिसभा भङ्ग गर्ने र सुशीला कार्कीलाई प्रधानमन्त्री मनोनयन गर्ने अवस्था भयो ।

त्यसपछि फागुन २१ गतेको निर्वाचन घोषणा भयो । यी सबै घटनामा सम्माननीय राष्ट्रपतिले पनि अत्यन्त सकारात्मक रूपमा भूमिका निर्वाह गर्नुभयो ।

आज तपाई नेपालको ४३ औँ प्रधानमन्त्री बन्नु भएको छ । आजको अवस्थासम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरूमा प्रकारान्तरले केपी ओलीजीको पनि योगदान छ ।

प्रधानमन्त्रीज्यू,

म प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको वृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ ? उहाँलाई थुन्नका निम्ति जे-जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र ? हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यास अनुसार कुनै पनि घटनाका छानबिन प्रतिवेदन सरकार समक्ष पेस भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारबाही प्रक्रिया अगाडि बढ्ने हो ।

प्रधानमन्त्री ज्यू !

हाम्रो संविधानबमोजिम कसैलाई मृत्युदण्ड दिइन्न । तर, संसारका अन्य राष्ट्रमा मृत्युदण्ड दिने व्यक्तिलाई पनि अन्तिम इच्छा सोधिन्छ । केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियो । त्यसो नगरी रातारात घर घेरेर, एकाबिहानै पक्राउ गर्ने शैली गलत थियो । म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रूपमा पनि अस्वस्थ राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन ।

अन्त्यमा यहाँको सफल र प्रभावकारी कार्यकालका निम्ति फेरि पनि शुभकामना व्यक्त गर्दछु ।

हार्दिक अभिवादन सहित,

 वामदेव गौतम

- पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री

- केन्द्रीय सदस्य, नेपाली कम्युनिस्ट पार्टी

२०८२/१२/२१

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!