शुक्रबार, ०३ अप्रिल २०२६

बादलको छिनोफानो गर्न एमाले सचिवालय बस्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्ति विवादबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका बादल एमाले संसदीय दलको नेतामा निर्विरोध चुनिएका थिए। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले जेनजी विद्रोह र रास्वपाको जीतबारेमा विवादास्पद र अप्रमाणित अभिव्यक्तिहरू दिएको भन्दै नेकपा एमालेकै कतिपय नेताहरूले आपत्ति जनाएका छन्।

त्यसलगत्तै एमालेले आकष्मिकरुपमा सचिवालय बैठक बोलाएको हो। एमालेका पदाधिकारीहरूले बादलको अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको भन्दै त्यसबारेमा पार्टीले निर्णय गर्ने बताएका छन्।

सचिवालय बैठकअघि उपाध्यक्ष विष्णु पौडेलसहित उपाध्यक्ष गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।

दलको नेता छान्नेदेखि संसदमा भाषणको ड्राफ्टसम्म टिचिङकै निर्देशनमा भइरहेको भन्दै नेताहरू असन्तुष्ट बनेका छन्। जेनजी आन्दोलनमा गैरकानुनी दमन गरेको कसुरमा ज्यानसम्बन्धी मुद्धा खेपेका अध्यक्ष केपी ओली प्रहरी हिरासतमा छन्। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका ओलीले त्यहीबाटै महासचिव शंकर पोखरेलमार्फत पार्टीमा रबैया चलाइरहेको नेताहरूको आरोप छ।

बिहीबारको संसद बैठकमा बादलको सम्बोधनको ड्राफ्ट नै टिचिङद्वारा निर्देशित महासचिव पोखरेलले लेखिदिएको नेताहरूको दाबी छ। संसदीय दलको नेता चुन्न पनि टिचिङकै निर्देशनमा महासचिवले भूमिका खेलेकाे भन्दै नेताहरू असन्तुष्ट छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए।

‘बाह्य दृष्टिले कसले निर्णायक भूमिका गरे। असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरू टीओबी, एआई, अल्गोरिदम जसले राष्ट्रियता लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुंखार खलनायक र हत्याराका रुपमा स्थापित गरे। जसले देश जलाउने, आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरूलाई महानायक बनाए। ति संस्था र पात्रहरुले नै बाह्य रुपमा यो जादुमय निर्णायक भूमिका खेले’ उनले भनेका थिए।

देश जलाउनेहरूलाई महानायक बनाएको उनको भनाइ थियो। बादलले कुन उद्देश्य पूरा गर्नको लागि राजनीतिक नेतृत्वहरूलाई पक्राउ गर्ने प्रपञ्च रचिँदैछ? किन देशव्यापी रूपमा दमनचक्र र राज्य आतङ्क मच्याइँदैछ? भनेर प्रश्न गरे।

उनले भदौ २३ र २४ गतेको घटनालाई लिएर प्रश्नैप्रश्न उठाए। उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क–कसको निर्णायक भूमिका रह्यो भन्दै प्रश्न गरे।

‘प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछ भने मुख्यतः नेपाली सेना, ब्यूरोक्रेसी, सुशीला सरकार, कार्की आयोग आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले ति संस्था तथा पात्रहरूलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। यो जादुमय विजयका लागि’ उनले भनेका थिए।

 

 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!