शनिबार, २१ मार्च २०२६

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्नः मेरो हातमा रगत छ कि छैन, जान्न चाहन्छु

News Image
• • •

जेनजी अगुवा रक्षा बमले भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्।

प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै उनले सडकमा आफूहरूमाथि दुर्व्यवहार र आक्रमण बढेको भन्दै उनले यस्ता आरोप र प्रश्नहरूको जवाफ प्रतिवेदन सार्वजनिक गरेर दिनुपर्ने माग गरेकी हुन्।

‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु। मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु। म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु,’ उनले भनेकी छन्, ‘र म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो? गोली चलाउने आदेश कसले दियो? र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो? त्यसैले, कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। त्यो तपाईंको जिम्मेवारी हो।’

यस्तो छ प्रधानमन्त्रीलाई रक्षा बमको आग्रह–

सम्माननीय प्रधानमन्त्रीज्यू,
म आज पनि त्यो दिन सम्झन्छु, राज्यविहीनताको जटिल अवस्थाबाट देश गुज्रिरहेको बेला तपाईंले नेतृत्व सम्हाल्नुभयो, र आजसम्म आइपुग्दा व्यवस्था कायम राख्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउनुभयो। त्यसका लागि तपाईं निश्चय नै धन्यवादका पात्र हुनुहुन्छ।

तर प्रधानमन्त्रीज्यू, के तपाईंले सडकमा के भइरहेको छ भनेर नियाल्नु भएको छ? हामीलाई कस्ता प्रश्नहरू सोधिँदैछन्, कस्तो व्यवहार भोग्नुपरेको छ, देखिरहनुभएको छ? संकटको अवस्थामा संविधान जोगाउन र देशलाई निकास दिन तपाईंको नेतृत्व आवश्यक छ भन्ने विश्वासका साथ हामीले तपाईंहरूमाथि भरोसा गरेका थियौँ, र त्यो धेरै हदसम्म सही निर्णय पनि हो। तर त्यही विश्वासको बदलामा आज हामीले दुर्व्यवहार भोग्नुपरेको छ। जीवनभरि गलत आरोपहरूको बोझ बोक्नुपर्ने अवस्था सिर्जना हुँदैछ। किनकी पिडीतहरूको आवाज चर्को हुन्छ प्रधानमन्त्री ज्यू। त्यसलाई बेलैमा सम्बोधन गरिनुपर्छ।

यी प्रश्नहरू र यस्तो व्यवहार आज सडकमा प्रत्यक्ष रूपमा देखिएको पहिलो दिन हुन सक्छ, तर सामाजिक सञ्जालमा, विशेषतः फेसबुकका इनबक्स र कमेन्टहरूमा, म यसलाई सुरुदेखि नै भोग्दै आइरहेकी छु। यो त मेरो दैनिकी जस्तै भइसकेको छ। ममाथि लगाइएका आरोपहरू, सोधिएका प्रश्नहरू र गरिएको व्यवहारको जवाफ मैले बारम्बार दिइसकेकी छु, तर अब त्यतिले मात्रै पुगेन, प्रधानमन्त्रीज्यू। अब हामीमाथि लागेका यस्ता आरोप र प्रश्नहरूको जवाफ तपाईंले प्रतिवेदन सार्वजनिक गरेर दिनैपर्छ।

प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु। मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु। म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु। र म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो? गोली चलाउने आदेश कसले दियो? र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो? त्यसैले, कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। त्यो तपाईको जिम्मेवारी हो।

न्याय पर्खिरहेका आँखाहरू तपाईंतिरै फर्किएका छन्। इतिहासले तपाईंलाई कसरी सम्झिने, त्यो निर्णय आज तपाईंकै हातमा छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!