बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ।
राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागिपरेर निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे। उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे।
‘फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,’ राष्ट्रपति पौडेलले भने।
आयोगले प्रतिवेदन अध्ययनपछि राष्ट्रपति पौडेलले अब प्रक्रिया अघि बढाउनेछन्। संसद् अधिवेशन आह्वान गर्न र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ। निर्वाचन प्रतिवेदन प्राप्त भइसकेकोले राष्ट्रपतिले केही दिनभित्रै नयाँ सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया