आइतबार, १५ मार्च २०२६

नयाँ सरकार बन्न अझै दश दिन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सरकार गठनका बारेमा पार्टीभित्र कुनै औपचारिक छलफल नभएको बताउँदै अझै केही दिन कुर्न भनेका छन्।

पार्टी कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले अहिले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यमहरूमा आगामी मन्त्रिपरिषद तथा त्यसमा आएका नामहरूमा कुनै सत्यता नभएको पार्टीको आधिकारिकता नभएको पनि दाबी गरे।

समानुपातिक सांसदहरूको नाम टुङ्ग्याउन र संसदीय दलको नेता चयन गर्नेबारेमा रास्वपाले आज सचिवालय बैठक बोलाएको थियो। तर अन्तिम अवस्थामा बैठक भर्चुअल हुने भनिएपछि कार्यालय पुगेका नेताहरूसमेत फर्किएका थिए।

त्यही क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता झाले नयाँ सरकारबारेमा भनेका हुन्।

‘अहिलेसम्म कुनै पनि छलफल भएको छैन। पार्टीभित्र औपचारिक छलफल नै नभएका विषयमा अहिले सामाजिक सञ्जालमा आएका कुराहरू सत्य होइनन्। सरकार बन्न अझै दश दिनजति लाग्नसक्छ। मन्त्रिहरूको नामबारेमा पनि कुनै छलफल भएको छैन’ उनले भने ‘भर्खर हामीले समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउँदैछौं। त्यसपछि अरु कुराहरू हुन्छन्। त्यसैका लागि अब पार्टीका बैठकहरू सुरु हुन थालेका छन्।’

यो निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट जितेको छ। यो भनेको लगभग दुई तिहाइ नजिकै हो। बालेन साहलाई पार्टीले वरिष्ठ नेता बनाएर उनलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर रास्वपा निर्वाचनमा होमिएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!