बिहिबार, १२ मार्च २०२६

एनआरएनए आईसीसी सचिवमा साउदीबाट राजेन्द्र अर्यालको उम्मेदवारी

News Image
• • •

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी २०२६–२०२८ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सचिव पदमा साउदी अरेबियाबाट सक्रिय अभियन्ता राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनएको १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुँदैछ। सोही महाधिवेशनबाट संघको नयाँ नेतृत्व चयन हुने छ।

हाल एनआरएनएको मध्यपूर्व क्षेत्रीय संयोजकको जिम्मेवारी सम्हालिरहेका अर्याल लामो समयदेखि साउदी अरेबियामा व्यवसायिक र सामाजिक अभियन्ताका रूपमा सक्रिय रहँदै प्रवासी नेपाली समुदायका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका अभियन्ता हुन्।

करिब १५ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय रहेका उनले साधारण सदस्यबाट सुरु गरेको यात्रा अन्तर्राष्ट्रिय समितिका विभिन्न जिम्मेवारी हुँदै क्षेत्रीय संयोजकसम्म पुगेको छ।

शान्त स्वभाव, संयमित नेतृत्व र परिणाममुखी कार्यशैलीका कारण अर्याललाई एनआरएनएभित्र ‘कम बोल्ने तर बढी काम गर्ने’ अभियन्ताका रूपमा चिनिन्छन्। संगठनभित्रको लामो अनुभव, श्रमिक समुदायसँगको नजिकको सम्बन्ध र प्रवासी नेपालीका समस्याप्रति संवेदनशील दृष्टिकोणका कारण उनको उम्मेदवारीलाई मध्यपूर्वसहित विश्वभरका अभियन्ताले सकारात्मक रूपमा लिएका छन्।

आगामी महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिँदै अर्यालले संगठनको नीति तथा योजना निर्माणलाई व्यवस्थित बनाउने, विदेशमा रहेका नेपाली श्रमिकहरूको हक–हित संरक्षण गर्ने तथा आपतकालीन राहत तथा सहयोग प्रणालीलाई थप प्रभावकारी बनाउने एजेन्डा अघि सारेका छन्।

उनले विशेषगरी वैदेशिक रोजगार ऐन २०६४ को प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको अधिकार संरक्षण तथा उनीहरूको कमाइलाई सुरक्षित र उत्पादनमुखी लगानीमा रूपान्तरण गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्। श्रमिकहरूले वैदेशिक रोजगारीसँगै नेपालमा न्यूनतम लगानी गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको उनको धारणा छ।

त्यसैगरी एनआरएनएद्वारा सञ्चालन गरिने विभिन्न परियोजनामा प्रवासी नेपालीको लगानी आकर्षित गर्ने, नेपालमा विकास र सहकार्यका योजनालाई संस्थागत रूपमा अगाडि बढाउने तथा सम्बन्धित मुलुकका दूतावास, सामाजिक संघ–संस्था, एनसीसी र आईसीसीबीच प्रभावकारी सहकार्य निर्माण गर्ने योजना उनले अघि सारेका छन्।

अर्यालका अनुसार एनआरएनएको महाधिवेशन ढिलाइ हुनुको प्रमुख कारण संस्थाभित्र देखिएको विवाद, अदालतका मुद्दा, एकता प्रक्रिया, मतदान प्रणालीसम्बन्धी मतभेद र विभिन्न राजनीतिक असहमतिहरू हुन्। यी सबै चुनौतीलाई समाधान गर्दै संस्थालाई पुनः एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउनु अहिलेको मुख्य आवश्यकता भएको उनले बताएका छन्।

मार्च १४–१६ मा हुने १२औं बृहत् एकता महाधिवेशनमार्फत नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य मध्यपूर्वबाट उठेको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित आफू सचिव पदको प्रतिस्पर्धामा उत्रिएको अर्यालले बताएका छन्।

निष्ठा, इमानदारी र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विश्वभर रहेका एनआरएन अभियन्ता, अग्रज, सहकर्मी तथा शुभेच्छुकहरूसँग साथ, सहयोग र समर्थनको हार्दिक अपिल गरेका छन्।

प्रवासमा रहेका श्रमजीवी नेपालीको पीडा, अनुभव र अपेक्षालाई नजिकबाट बुझ्ने नेतृत्वका रूपमा चिनिएका राजेन्द्र अर्यालको उम्मेदवारीलाई एनआरएनएभित्र श्रमिक केन्द्रीत नीति र व्यवहारिक नेतृत्वको प्रतिनिधित्वका रूपमा पनि हेरिएको छ। उनी सचिव पदमा अग्रस्थानमा रहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!