सोमबार, ०९ मार्च २०२६

धनुषा–१ मा मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएपछि नेकपाको आपत्ति, अदालतको आदेश कुर्दै आयोग!

News Image
• • •

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा–१ बाट प्रतिनिधिसभामा पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकामा ध्यानाकर्षण गराएको छ।

कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको हो।

पार्टीले भनेको छ, ‘हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न आग्रह गर्दछ, साथै न्यायालयले पनि कानून र विधिसम्मत ढङ्गले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ।’

निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय भएको नेकपाले जनाएको छ ।

‘निर्वाचन आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना भई पार्टीका उम्मेदवार यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नाका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।

रास्वपा उम्मेदवार साह कालोसूचीमा रहेको भन्दै आयोगले निर्वाचनको दुईदिनअघि मानै उनको उम्मेदवारी खारेज गरिदिएको थियो। आयोगको निर्णयविरुद्ध साह सर्वोच्च अदालत गएका थिए। त्यसयता सार्वजनिक बिदा परेकाले आजका लागि उनको मुद्धामा पेसी तोकिएको छ।

उनको मुद्धा न्यायाधीश नृपध्वज निरौलाको ९ नम्बर इजलासमा परेको छ।

रास्वपा नेताहरूले उम्मेदवारी रद्ध भए पनि रास्वपाको चुनाव चिन्हमा सखेको मत छुट्टै रेकर्डमा राख्न भनेपछि आयोगले छुट्टै रेकर्डमा राखेको छ। 

आयोग स्रोतका अनुसार अदालतको आदेशपछि विजेता घोषणा गरिने छ। उच्च स्रोतका अनुसार उम्मेदवारी रद्ध भएको रास्वपाको चुनाव चिन्हमा सर्वाधिक मत परेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!